मुगुबासी आयातित चामलकै भरमा

मुगु । मुगु जिल्लाका स्थानीयहरू खेतीपातीमा सक्रिय भएपनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य भएका छन् । कठिन भूगोल, पर्याप्त सिँचाइको अभाव र आधुनिक कृषि प्रविधिको कमीका कारणले चाहेजति कृषि उत्पादनले माग धान्न सकेको छैन् ।

‘जिल्लामा उत्पादन हुने अन्नले ३ देखि ६ महिना पुग्दैन । बजार र नेपाल सरकारको अनुदानमा वितरण गरिएको चामलकै भर पर्नुपर्छ । मुगुमा सरकारले उपलब्ध गराएको सहुलियतको चामल भने ठूलो राहतको स्रोत बनेको छ,’ जिल्लाका स्थानीय बासिन्दा बताउँछन् ।

कृषि विज्ञहरूका अनुसार, यदी स्थानीय स्तरमा सिँचाइ व्यवस्थापन, बीउ बिजनको सुधार र आधुनिक प्रविधि भित्र्याउने पहल गरिएमा मुगुमा कृषि उत्पादन बढाउन सकिन्छ । तर, हाललाई मुगुका बासिन्दा आयातित चामलमै निर्भर रहेर जीवन निर्वाह गरिरहेका छन् ।

‘खेतीपातीबाट उत्पादन भएको अन्नले मात्र बर्सभरि खान पुग्दैन्, त्यसैले चामल नकिनी सुखै छैन,’ छायाँनाथ रारा नगरपालिका–१, निवासी सिपा हितानले भनिन्, ‘सरकारले अनुदानमा चामल दिनु भन्दा कृषि उत्पादनमा वृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।’ छायाँनाथ राराकै अर्का कृषक नन्दबहादुर मल्लका अनुसार सरकारी अनुदान वास्तविक कृषकले पाउँदैनन्, राजनीतिक पहुँच र पावरको भरमा योजना छनौट गरिन्छ वास्तविक कृषक नभएर हुनेखाने अरू पेशा व्यवसायमा लागेका र खेतीपाती ,पशुपालन नगर्ने खालका व्यक्तिहरूले अनुदानका कृषि सामाग्री लगायत योजनाहरू पाउने गरेका छन् ।

सरकारले कृषि सुधारका लागि वास्तविक कृषकहरू पहिचान गरि उनीहरूको संरक्षण गर्न सकेमात्र मुगुमा कृषि उत्पादनमा वृद्धि भई आयातित चामल लगायत कृषिजन्य वस्तुको उपभोग गर्ने सङ्ख्यामा कमी आउने अपेक्षा गरिएको छ । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले ठोस कदम चालेको खण्डमा मात्र मुगु बासीहरूको जीवनस्तरमा सुधार ल्याउन सकिने विज्ञहरु बताउँछन् ।

Translate »