सुर्खेतमा सत्ता साझेदार राजनीतिक संयन्त्रको पहिलो बैठक

सुर्खेत । सत्ता गठबन्धन दल नेकपा एमाले र नेपाली काँग्रेसको जिल्लास्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
बैठकमा पछिल्ला घटनाक्रमले राजनीतिक दलहरुप्रति बढ्दै गएको वितृष्णाले व्यवस्थामाथि नै प्रश्न उठेकाले त्यसको चिरफार गर्नका लागि दुई दल एकमना एकता कायम गरेर अघि बढ्ने निर्णय भएको नेकपा एमाले सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले बताए । उनले तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका राम्रा तथा नमूनायोग्य कामलाई जनतासामु लैजाने निर्णय समेत भएको जानकारी दिए ।

उनका अनुसार सार्वजनिक महत्व र नागरिकसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठान गरी समस्या समाधानका लागि दुई दल वीच सहकार्य गर्ने सहमति भएको छ । वीरेन्द्रनगर स्थित नेकपा एमाले सुर्खेतको कार्यालयमा सम्पन्न बैठकले आगामी दिनमा सत्ता साझेदार संयन्त्रको बैठक बसी केन्द्र तथा प्रदेश तहबाट भएका साझेदारी सयन्त्रको जानकारी आदान प्रदान गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले जिल्लाभर भएका विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दुबै दल मिलेर जाने सहमति भएको छ । सत्ता साझेदार दलको संयन्त्र बनेपछि सुर्खेतमा बसेको यो पहिलो बैठक हो । बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति पनि भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज रावतको अध्यक्षतामा बसेको सत्ता साझेदार दल संयन्त्रको बैठकमा एमाले सुर्खेत अध्यक्ष कुलमणि देवकोटा, सचिव डम्वर तिवारी तथा नेपाली काँग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेल, उपसभापति टोपबहादुर रावत र सचिव देवकुमार सुवेदीको सहभागिता रहेको थियो ।