कर्णालीका उत्पादनप्रति उपभोक्ताको आकर्षण

बाँके । नेपालगञ्जमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा कर्णालीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ । अन्य स्टलहरूमा भन्दा महोत्सवमा राखिएका अर्गानिक उत्पादनहरुप्रति उपभोक्ताले रुचि देखाएसँगै महोत्सवको आकर्षण नै कर्णालीको उत्पादन बनेको हो ।
महोत्सवमा कर्णालीमा उत्पादन भएका गाँजाको लत्ताकपडादेखि वन पाखामा पाईने जडीबुटीसम्मका सामाग्रीहरू प्रदर्शनका लागि राखिएका छन् । सल्यानको खुकुरी तरबारदेखि हुम्लाको ओखर र भाङ्गो पनि मेलामा उपलब्ध छन् । जुम्लाको भाङको तेल, भाङको साबुन, महदेखि चिनो, मार्सी चामल, फापर पिठो, गाँजाको चियापत्ती जस्ता कर्णालीका उत्पादनहरु महोत्सवमा राखिएका छन् ।
अल्लो कपडा र गाँजाको कोट र झोला र कर्णालीका खाद्यान्नमा अवलोकनकर्ताको अभिरुचि बढी देखिएको स्टल होल्डरहरूले बताएका छन् । महोत्सवमा अल्लो र गाँजाका पर्स, कोट, झोला, गलबन्दी आदी राखिएका छन् । हुम्ला चंखेलीका हरिलाल बुढा पहिलो पटक हुम्लाको उत्पादन लिएर महोत्सवमा आएका बताए । उनले कर्णालीलाई चिनेका केही ग्राहकले सामान किने पनि हेरेर मात्र जाने धेरै भएको गुनासो गरे ।

सल्यानमा बनेको खुकुरी लिएर स्टलमा बसेकी टीका बिक महोत्सवको व्यापारबाट सन्तुष्ट नै देखिन्छिन् । महोत्सवमा ब्यापार राम्रो भएको उनको भनाई छ । सल्यानमा बनेको खुकुरी, तरबार, मासु काट्ने दाउ र फलामका चक्कुहरू उनको स्टलमा छन् । छालाको खुकुरी राख्ने दाप पनि उनको स्टलमा पाइन्छ । दर्शकको रुचि खुकुरी तर्फ नै बढी देखिएको बिकले बताईन् ।
जडीबुटी व्यवसायी सङ्घले राखेको स्टलमा पनि अधिकांश जडीबुटीहरू कर्णाली कै रहेका छन् । ब्यापार भन्दा प्रदर्शनमा सीमित रहेको सङ्घको स्टलमा जङ्गलमा पाईने जडीबुटीहरू राखिएका छन् । कर्णालीले महोत्सवको रौनक बढाएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटले बताए । उनले महोत्सवबाट कर्णाली र दूरदराजका कृषि उत्पादनहरुको प्रवद्र्धन भएको जिकिर गरे । शहरमा बसेका युवाहरूले पनि हिमाली भेगमा हुने उपजहरू देख्न पाएको उल्लेख गर्दै रानाभाटले दर्शकहरू पनि कृषिका स्टलहरूमा बढी रोकिने गरेको जानकारी दिए ।
मेलाको मुल उद्देश्यलाई कर्णालीका स्टलहरूले प्रतिनिधित्व गरेको महोत्सवका प्रचार संयोजक डम्बर चन्दले बताए । उनले महोत्सवको मुख्य उद्देश्यले स्वदेशी उत्पादनको प्रचार–प्रसार गर्नु रहेको स्पष्ट पारे ।