नेपालगञ्जमा सफलतापूर्वक कपाल प्रत्यारोपण

बाँके । नेपालगञ्जमा पहिलोपटक कपाल प्रत्यारोपण गरिएको छ ।
नेपालगञ्ज स्किन सेन्टरमा नेपालगञ्जका दुई जना युवकको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएसँगै नेपालगञ्जमा अब कपाल प्रत्यारोपण सेवा सुरु भएको हो । कस्मेटिक डर्माटोलोजिष्ट समेत रहेका सर्जन डा.अभिषेक अर्जेलको नेतृत्वमा नेपालगञ्जका ३४ वर्षीय र ३५ वर्षीय पुरुषको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएको छ ।

डा.अर्जेलसँगै डा.सपना शर्मा, एनेस्थेसिस्ट डा.नवीन रेग्मीलगायतको टिमले सफलतापूर्वक कपाल प्रत्यारोपण गरेको हो । ३४ वर्षीय पुरुषको १२ घण्टा लगाएर ५ हजार कपाल रोपिएको छ भने ३५ वर्षीय पुरुषको १० घण्टा लगाएर ३ हजार २ सय कपाल रोपिएको छ । ती विरामीमा तालुको कपाल झर्ने वंशाणुगत समस्या थियो ।
मेडिकल भाषामा यसलाई ‘एन्ड्रोजेनेटिक अलोपेसिया’ भनिन्छ । पछिल्लो समय कपाल नभएका व्यक्तिहरूका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रुपमा आइरहेको छ ।
नेपालगञ्जमा पनि कपाल प्रत्यारोपण सेवा सुरु गरिएसँगै कपालको रहर गर्नेहरुका लागि अब सहजता मिल्नेछ । कपाल प्रत्यारोपण सर्जन डा.अर्जेल कतिपय व्यक्तिको कपाल औषधिका माध्यमबाट रोक्न सकिने बताए । तर, केही गरी कपाल झर्न रोकिएन र तालु देखिने अवस्थामा भने प्रत्यारोपण गर्न सकिने उनको भनाई छ ।