एमाले पञ्चपुरीले गाउँटोल अभियान शुरु गर्दै

बाबियाचौर । नेकपा एमाले पञ्चपुरी नगरकमिटीले गाउँ टोल अभियान शुरु गर्न लागेको छ । पश्चिम सुर्खेतको बाबियाचौरमा आज बसेको पञ्चपुरी नगरकमिटीको चौथो बैठकले जनजीविका र जनसरोकारका विषयलाई लिएर नगरकमिटीले गाउँ टोल अभियान शुरु गर्न लागेको हो ।
नेकपा एमाले पञ्चपुरी नगरकमिटीका अध्यक्ष भिमबहादुर रावतको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य मोहनमाया ढकालको प्रमुख आथित्यततामा शुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नवराज रावत, सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटा, जिल्ला उपाध्यक्ष मोहन बडुवाल, पञ्चपुरी ईन्चार्ज धर्मराज ढुङगाना, एमाले प्रदेश कमिटी सचिवालय सदस्य ईन्द्रबहादुर केसी, जिल्ला सचिवालय सदस्य घनश्याम पाण्डेयलगायत नेताहरुको उपस्थितिमा पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियानलाई लक्षित गर्दै कमिटीले व्यापक छलफल गरी गाउँटोल अभियानलाई प्रभावकारी बनाउन लागेको हो ।

आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने लक्ष्य रहेको एमाले सुर्खेत अध्यक्ष कुलमणि देवकोटाले बताए । उनले पार्टी नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनतावीच स्थापित गर्ने लक्ष्य रहेको जनाए ।
अभियान अन्तर्गत पार्टीका नेता कार्यकर्ता र संगठन टोलसम्मै परिचालन गरिने र संगठन र कमिटीहरू निर्माण गरिने उनको भनाइ छ । ‘जनताका समस्या समेत पहिचान गरेर उनीहरुलाई साथमै लिएर पार्टी कमिटी र जनसंगठनहरु वडा तहमा पुर्याउने हो’, देवकोटाले भने । यसैवीच श्री बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पदमराज रिमाललाई नेकपा एमाले पञ्चपुरीले बधाईसँगै सम्मान गरेको छ । उनी नेकपा एमाले पञ्चपुरी नगरकमिटीका उपसचिव हुन् ।