कर्णाली नदीमा माछा पाउनै मुस्किल

मुगु । अहिले कर्णाली नदीमा माछा पाउन कठिन हुँदै गएको नदी किनारका बासिन्दाले बताएका छन् । नदीमा अन्धाधुन्ध माछा मार्ने प्रवृत्ति, जल प्रदूषण र जलवायु परिवर्तनका कारण माछाको संख्या घट्दै गएको उनीहरुको भनाइ छ ।
यता माछा मार्नका लागि विषादी प्रयोग गर्ने, विद्युतीय प्रविधि अपनाउने, तथा अवैध जालसमेत प्रयोग गर्ने जस्ता कारणले माछाको प्रजनन र हुर्काइमा अवरोध आएको विज्ञहरु बताउँछन् ।

‘पहिले जति माछा पाइन्थ्यो, अहिले त दिनभर जाल हाले पनि केही पाइँदैन,’ मुगुका स्थानीय रामलाल लावडले भने । सरकार र सरोकारवाला निकायहले नदी संरक्षण, माछा संरक्षण नीति र दिगो माछा पालनका उपायहरू अवलम्बन नगर्ने हो भने मुगुका नदीहरू माछाविहीन हुने खतरा रहेको उनको भनाइ छ।
हाल मुगुमा व्यावसायिक माछा पालन छैन, तर गमगाड खोलामा, खतेड खोलामा र मुगु कर्णाली नदीबाट फाटफुट रुपमा बजारमा माछाको व्यापार हुने गरेको थियो । अहिले नदीमा पासो हाल्ने र जाल खेल्ने काम गर्दा पनि माछा पाउने दर निकै न्यून रहेको स्थानीयको भनाइ छ।
जलवायु परिवर्तनका कारण माछासहित पानीमा बाँच्ने अन्य जीवहरूको अस्तित्व संकटमा परेको देखिन्छ । यसरी माछा र अन्य जलजन्य जीवहरूको अस्तित्व बचाउनका लागि सम्बन्धित निकायले तत्काल कदम उठाउन स्थानीयको माग छ ।