आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल सम्वाद गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भर्चुअल संवाद गर्ने कार्यक्रम छ ।
विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष सम्वाद गरिने भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा विकास निर्माण आयोजनाहरुको कामको प्रगतिका बारेमा विशेष चासो राख्दै आएका छन् ।
तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग सम्वाद गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका हुन् । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए ।