आफ्ना नेता कार्यकर्तालाई जनतासँग सिधै जोड्न गाउँ पस्यो एमाले

माघ २५, सुर्खेत । आफ्ना नेता, कार्यकतालाई जनतासँग सिधै जोड्न नेकपा एमालेले गाउँ टोल अभियान सञ्चालन गरिरहेको छ ।

जनजीविका र जनसरोकारका विषयसँगै तीनै तहका सरकारका राम्रा कामको प्रचार–प्रसार गर्न एमालेका नेता, कार्यकर्ता गाउँ टोल अभियानमा जुटेका हुन् । पछिल्लो समय राजनीति दल र व्यवस्थाप्रति नै वितृष्णा जगाउने खालका क्रियाकलाप देखिन थालेपछि त्यसको चिरफार गर्नपनि एमाले गाउँ टोल अभियानमा जुटेको नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले बताए ।

उनले सुर्खेतका नौ पालिकाका ९९ वटा वडा मध्य ३ वटा वडामा मात्र अन्तर पार्टी निर्देशन (अपानि) अनुसारका कार्यक्रम पुग्न बाँकी रहेको जनाए । अहिले पालिका र वडा स्तरमा कार्यक्रम सम्पन्न भएका स्थानमा फेरी ‘टोल अभियान’ शुरु भईसकेको उनले जानकारी दिए ।

‘तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका राम्रा तथा नमूनायोग्य कामलाई जनताको घरदैलोमै पु¥याउने गरी अभियानमा जुटेका छौं,’ उनले भने, ‘सार्वजनिक महत्व र नागरिकसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठान गरी समस्या समाधानका लागि तीनै तहका सरकारसँग समन्वय तथा सहकार्यका लागि आवश्यक पहल समेत शुरु गरिसकेका छौं ।’

उनले एमाले पार्टी र नागरिक वीच सिधा सम्वाद मात्र नभई सार्वजनिक सुनुवाई नै गर्ने योजनाका साथ अघि बढिरहेको जनाए । सरकारले केही गरेकै छैन, विकास भएकै छैन भन्ने भाष्य चिर्न समेत एमालेले गाउँ–टोल अभियानमा केन्द्रित हुनु परेको उनको भनाइ छ ।

उनले जिल्ला स्तरतका सबै नेता तथा कार्यकर्तालाई गाउँ टोल अभियानमा परिचालन गरी जनताको समस्याको पहिचान, समस्या समाधानसँगै संगठन केन्द्रित प्रशिक्षण कार्यक्रम चलाउने काम समेत भईरहेको जानकारी दिए ।

‘आन्तरिक एकतालाई बलियो बनाउँदै अघिल्ला कमीकमजोरीलाई दोहोरिन नदिने रणनीति बनाएका छौं,’ उनले भने, ‘स्थानीय तहका सबै वडामा मात्र होइन, गाउँ टोलसम्मै नेताहरुलाई सामूहिक रुपमा सबै क्षेत्रमा पु¥याउने रणनीति समेत बनाएका छौं ।’

उनले भ्रातृ तथा जनसंगठनदेखि जिल्ला कमिटीका सबै नेता तथा कार्यकर्तालाई जनतासँग सिधै दरिलो (कनेक्टिविटी) जोड्ने काम यस पटक भईरहेको जनाए ।

‘पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई लक्षित गरेर एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायतका विषयमा प्रशिक्षित गर्ने काम समेत चलिरहेको छ,’ उनले भने, ‘एमालेको गाउँ टोल अभियानले अन्य दलका नेता, कार्यकर्तालाई समेत एमाले तर्फ आकर्षित गरिरहेको छ ।’

उनले गएको आम निर्वाचनमा जनताको लोकप्रिय मत पाएको एमालेले संख्यात्मक कमीलाई फेरी नदोहोरिने गरी परिपूर्ति गर्न अहिलेदेखि नै पूर्वअभ्यास चलिरहेको दावी गरे ।

उनका अनुसार गाउँ टोलमा समेत माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको कार्यदिशा, संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा समेत प्रशिक्षण दिने काम चलिरहेको छ ।

Translate »