नेपाल निवृत्त शिक्षक समाज सुर्खेतको अध्यक्षमा मातृकाप्रसाद अधिकारी निर्वाचित

वीरेन्द्रनगर । नेपाल निवृत्त शिक्षक समाज सुर्खेतको अध्यक्षमा मातृका प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट समाजको उपाध्यक्ष महिला जगतमाया शार्मा, उपाध्यक्ष पुरुष धनिराम अधिकारी, सचिव उमाकान्त सापकोटा, कोषाध्यक्ष लक्ष्मी सापकोटा (भुसाल) निर्वाचित गरेको छ । सह–कोषाध्यक्ष पद भने पछि परिपूर्ति गर्ने निर्णय भएको छ ।

अधिवेशनले सदस्यमा युवराज खनाल (पञ्चपुरी), खगेन्द्रप्रसाद पंगाली (लेकवेशी), उदयबहादुर खत्री (चिङगाड) सहित १६ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
समाजले सुर्खेत जिल्लाभरी छरिएर रहेका सेवा निवृत्त शिक्षकलाई संगठित गर्दै रचनात्मक तथा सृजनात्मक गतिविधिलाई अघि बढाउने निर्णय गरेको नवनिर्धाचित अध्यक्ष अधिकारीले बताए । उनले सेवा निवृत्त शिक्षकको हक, हित र अधिकार प्राप्तिका लागि समाजले निरन्तर आवाज बुलन्द गर्ने जनाए ।
उनका अनुसार समाजको केन्द्रिय प्रतिनिधिमा यामलाल घिमिरे र शान्ति ढकाल निर्वाचित भएका छन् ।