बाल विवाह मुक्त अभियानमा कर्णालीबाट पाँच हजार नागरिक जोडिए

सुर्खेत । बाल विवाह मुक्त नेपाल अभियानमा कर्णालीबाट पाँच हजार नागरिक जोडिएका छन् ।

‘जस्ट राइट्स फर चिल्ड्रेन्सको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा बेस संस्थाको सहकार्यमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित ‘बाल विवाह मुक्त नेपाल अभियान २०८२’ अन्तर्गत कर्णालीबाट ५ हजार नागरिक जोडिएका हुन् ।

नेपाललाई सन् २०३० सम्म ‘बाल विवाह मुक्त नेपाल’ बनाउने सरकारी लक्ष्यलाई सघाउन अभियान सञ्चालन गरिएको हो । बाल विवाहका नकारात्मक असर, कानूनी प्रावधान र बाल अधिकारसम्बन्धी जानकारी प्रदान गर्न कर्णालीमा ‘बाल विवाह मुक्त नेपाल अभियान २०८२’ सञ्चालन गरिएको वेस संस्थाका कार्यक्रम अधिकृत जीवराज लम्सालले बताए ।

उनले अभियानमा बालविवाह रोक्न बालअधिकारको कानूनी प्रावधान, जोखिम लगायतका बारेमा अभिभावकसँगै सरोकारवालालाई समेत सामूहिक प्रतिबद्धता गराईएको जनाए । उनका अनुसार हाल सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, लेकवेसी नगरपालिका र बराहताल गाउँपालिकासँगै दैलेखको गुराँस गाउँपालिकाका विद्यालय तथा समुदायमा उक्त अभियान सञ्चालन गरिएको छ ।

‘बाल विवाह केवल सामाजिक कुरीति मात्र नभई बालबालिकाको स्वास्थ्य, शिक्षा र भविष्य माथि गम्भीर असर पार्ने मानव अधिकारको उल्लंघन हो,’ उनले भने, ‘अभियानको मुख्य उद्देश्य बाल विवाहका घटनामा कमी ल्याउनु र बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्नु नै हो ।’

अभियानले समुदायस्तरमा बाल संरक्षण संयन्त्र सुदृढ बनाउन समेत सहयोग पुगिरहेको उनको भनाइ छ । ‘बाल विवाह मुक्त नेपाल अभियान २०८२’ को पहिलो सय दिने अभियान गएको मंसिर महिनादेखि सुरु भएको हो ।

सातै प्रदेशमा सञ्चालित अभियानलाई प्रभावकारी बनाउन वेस संस्थाले विद्यालय, समुदाय तथा स्थानीय सरोकारवालाहरुसँग मिलेर सचेतनामूलक कार्यक्रम, छलफल, प्रतिबद्धतासँगै अभिभावक भेटघाटजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ।

Translate »