बाँकेको नरैनापुर गाउँपालिकाद्वारा आफ्नै पहिचाने झल्कने लोगो सार्वजनिक

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नै सांस्कृतिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक पहिचान झल्किने लोगो तयार गरी औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको छ ।

स्थानीय तह गठन भएको झण्डै ९ वर्षपछि नरैनापुर गाउँपालिकाले आफ्नै आधिकारिक लोगो सार्वजनिक गरेको हो । जसलाई पालिकाको पहिचान निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । गाउँ कार्यपालिकाको बैठकबाट लोगो पारित भएसँगै कार्यान्वयन सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

अध्यक्ष शाहका अनुसार गाउँपालिकाको बहुसांस्कृतिक पहिचान, धार्मिक सहिष्णुता, प्राकृतिक सम्पदा र स्थानीय जीवनशैलीलाई समेट्ने उद्देश्यसहित लोगो निर्माण गरिएको हो । ‘नरैनापुरको मौलिकता झल्कने गरी लोगो तयार गरिएको छ, जसले अब पालिकाको छुट्टै पहिचान स्थापित गर्नेछ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार लोगोमा नेपालको राष्ट्रिय झण्डा, वनजंगल, हिन्दु तथा मुस्लिम समुदायका धार्मिक स्थल, गाई–भैंसी, हरियाली जमिन र गाउँपालिकाको नक्सा समावेश गरिएको छ।

यी सङ्केतहरूले पालिकाको धार्मिक सद्भाव, कृषि र प्राकृतिक सम्पदालाई प्रतिनिधित्व गर्छन् । त्यसैगरी वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले लोगोमा रैथाने बाली, गहुँ तथा विकासको प्रतीकका रुपमा सडक सङ्केत गरिएको जानकारी दिए । लोगो कार्यान्वयनमा आएसँगै गाउँपालिकाको पहिचान थप प्रष्ट र बलियो बनेको उनको भनाइ छ।

लोगो निर्माणका लागि खुला प्रतिस्पर्धा गराई इच्छुक सर्जकहरुबाट डिजाइन सङ्कलन गरिएको थियो । पालिकाका इन्जिनियर प्रबिन श्रेष्ठको नेतृत्वमा अन्तिम रुप दिइएको उक्त लोगो जनमुखी र अर्थपूर्ण रहेको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन् ।

 

Translate »