कर्णालीमा निर्वाचन लक्षित सुरक्षा सतर्कतामा कडाइ गर्न गस्तीदेखि ‘सरप्राइज चेकिङ’ सम्म

लक्ष्मी विक /सुर्खेत । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।

फागुन २१ गते हुन् लागेको निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल (एसटीएफ) उपग्रह अड्डा कर्णालीले सुरक्षा सतर्कता बढाइएको हो । प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी कर्णालीमा सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।

शुक्रबार कर्णाली प्रदेश प्रहरी कार्यालय विशेष सुरक्षा कार्यदल सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद कँडेलको कमाण्डमा खटि गएको प्रहरी टोलीद्वारा नागरिकमा शान्ति सुरक्षाको प्रत्याभुति, महत्वपुर्ण प्रतिष्ठानको सुरक्षा, आसन्न निर्वाचनलाई सुरक्षित तथा अपराधिक क्रियाकलाप नियन्त्रण लगायतका मुल उद्देश्यका साथ सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित विभिन्न स्थानहरुमा गस्ती गरेको हो ।

जनशक्ति परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै निर्वाचन आयोगबाट प्राप्त निर्णयहरुलाई कार्यान्वयन गराउन उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गर्ने रणनीति प्रहरीले अवलम्वन गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिए ।

उनले निर्वाचनलक्षित गस्तीलाई प्रभावकारी र पहुँच बढाउँदै मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थलहरुमा सिसिटिभी क्यामरामार्फत समेत निगरानी गर्न थालिएको बताए । सामाजिक सद्भाव भड्काउने प्रयास गर्ने व्यक्ति तथा समूह, सामाजिक सञ्जाल तथा प्रत्यक्ष गतिविधिमार्फत समाजमा अशान्ति फैलाउन खोज्ने प्रवृत्तिमाथि समेत निगरानी बढाइएको उनको भनाइ छ ।

‘निर्वाचनको विषयलाई लिएर हुनसक्ने तोडफोड, आगजनीजस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रुपमा बृद्धि गर्दै आइरहेको छ,’ उनले भने, ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरीले नियमित गस्तीका साथसाथै सूचना संकलन, खतरा मूल्यांकनसहितको विश्लेषण तथा प्रवाहलाई प्रभावकारी बनाउने कार्य गरिरहेको छ ।’

उनले प्रदेशका सीमाक्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि समेत नियमित अनुगमन तथा प्रभावकारी रुपमा प्रहरी परिचालित गरिएको जनाए । उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको उनको भनाइ छ ।

उनले महत्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनाको विशेष सुरक्षासँगै अराजक, उच्छृङ्खल, आपराधिक क्रियाकलाप एवं गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीलाई क्रियाशील बनाईएको जनाए । जेनजी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियार बरामद एवं फरार कैदीबन्दी तथा थुनुवाहरुको पक्राउमा प्रहरी क्रियाशील रहेको उनको भनाइ छ ।

उनले ‘एकीकृत सुरक्षा योजना, २०८२’ अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्रदेश राजधानी सुर्खेतसहित कर्णाली प्रदेशका दश वटै जिल्लामा निर्वाचन सुरक्षा सतर्कता बढाएको जनाए ।

‘अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ,’ उनले भने, ‘निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्तीले आवश्यकता अनुसार होटल, लजहरुमा ‘डग स्नीफिङ’ सहितको जाँच समेत सुरु गरेको छ ।’ प्रहरीले प्रदेशका सम्वेदनशील विभिन्न ठाउँहरुमा ‘सरप्राइज चेकिङ’ समेत सुरु गरेको उनको भनाइ छ ।

Translate »