सुर्खेतका निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना तालिम दिएको छ ।

निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सुर्खेतमा भर्ना भई हाल तालिम लिइरहेका निर्वाचन प्रहरीलाई प्रचलित ट्राफिक ऐन तथा नियम, सार्वजनिक सडकको सुरक्षित प्रयोग, सवारी आवागमन व्यवस्थापन र दुर्घटना न्यूनीकरणसम्बन्धी महत्वपूर्ण जानकारी दिइएको थियो ।

निर्वाचनका बेला सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा सडकमा खटिनुपर्ने भएकाले उनीहरुलाई ट्राफिक नियमका आधारभूत तथा व्यावहारिक पक्षबारे विशेष सचेतना गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनमा कसरी ट्राफिक व्यवस्थापनसँगै सुरक्षाको जिम्मेवारी थप राम्रो गर्ने भन्ने बारे तालिममा सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) रोहितकुमार शाहीले जानकारी दिए ।

उनले निर्वाचन प्रहरीमा भर्ना भई हाल तालिमरत निर्वाचन प्रहरीहरुका लागि सवारी दुर्घटना न्यूनिकरण गरि जनधनको क्षति कम गर्ने उद्देश्यले ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’, ‘सवारी नियमको पालना गरौं, दुर्घटनाबाट आफु बचौं र अरुलाई पनि बचाऔं’, सवारी दुर्घटना न्यूनिकरणमा निर्वाचन प्रहरीको जिम्मेवारी एवम् भूमिका, सवारी चालक, सह–चालक, सडक प्रयोगकर्ताको जिम्मेवारी, सवारी नियम सम्बन्धि कानुनी व्यवस्था लगायतका विषयवस्तुहरु समेटी ‘निर्वाचन प्रहरीहरुका लागि ट्राफिक सचेतना कक्षा’ सञ्चालन गरिएको बताए ।

‘निर्वाचन सुरक्षा प्रयोजनार्थ भर्ना भएका निर्वाचन प्रहरीलाई लक्षित तालिममा भिडभाड व्यवस्थापन, सवारी चाप नियन्त्रण र आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे समेत प्रशिक्षण दिइएको हो,’ उनले भने । ट्राफिक कार्यालयको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन र सडक सञ्चालनलाई प्रभावकारी बनाउने मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

तालिममा निर्वाचन प्रहरीलाई सुरक्षा व्यवस्थापनमा अपनाउनु पर्ने भूमिका, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्रको सुरक्षाका उपाय, निर्वाचन आचारसंहिता २०८२, सुरक्षा निकाय र सुरक्षाकर्मीहरुले पालना गर्नुपर्ने आचारसंहिता तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति २०७७ लगायतका विषयमा समेत प्रशिक्षण प्रदान गरिएको ट्राफिक कार्यालयका प्रमुख शाहीले स्काई न्यूज दैनिकलाई जनाए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी गणमा सहभागी १२ सय बढी निर्वाचन प्रहरीलाई छुट्टाछुट्टै प्रशिक्षण दिइएको उनको भनाइ छ । तालिममा सहभागी निर्वाचन प्रहरीहरुले यस्तो सचेतनाले निर्वाचन अवधिमा सडक सुरक्षा कायम गर्न र आम नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न ठूलो सहयोग पुग्ने बताएका थिए ।

 

Translate »