कर्णालीका कारागारदेखि विमानस्थलसम्मको सुरक्षा जिम्मा नेपाली सेनालाई

सुर्खेत । यहीं फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशका कारागारदेखि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ ।

निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या खटिने भएपछि कर्णालीका कारागारदेखि विमानस्थलसम्मको  सुरक्षा जिम्मा नेपाली सेनाले पाएको हो ।  निर्वाचन अवधिमा कर्णालीका विमानस्थल, कारागारसँगै महत्वपूर्ण सार्वजनिक प्रतिष्ठानहरुको सुरक्षा जिम्मेवारी नेपाली सेनाले पाएको उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाहले जानकारी दिए ।

उनले कर्णालीका ६ वटा विमानस्थलसँगै ९ वटा कारागारको सुरक्षामा नेपाली सेना परिचालन भएको बताए ।  उनका अनुसार सुर्खेत विमानस्थल, जुम्ला विमानस्थल, हुम्लाको सिमकोट विमानस्थल, मुगुको ताल्चा विमानस्थल, डोल्पाको जुफाल विमानस्थल र रुकुम पश्चिमको सल्ले विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई प्रदान गरिएको छ ।

त्यस्तै सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, हुम्ला र कालिकोट स्थित कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनाले पाएको छ ।  विशेष परिस्थितिमा यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको उनले जानकारी दिए ।

उनले ‘एकीकृत सुरक्षा योजना, २०८२’ अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्रदेश राजधानी सुर्खेतसहित कर्णाली प्रदेशका दश वटै जिल्लामा निर्वाचन सुरक्षा सतर्कता बढाएको बताए । प्रदेशका सम्वेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती अभियान रणनीति समेत अवलम्वन गरिएको उनको भनाइ छ ।

सेनाको हवाई गस्ती

निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । विकट ठाउँहरु तथा अतिसंवेदनशील क्षेत्रहरुमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाईएको उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाहले जानकारी दिए । उनले सुर्खेत विमानस्थलमा स्ट्याण्डबाई हेलिकप्टरको व्यवस्था मिलाइएको बताए ।

‘सुर्खेतमा नेपाली सेनाकै एउटा विमान र अर्को भाडाको हेलिकप्टर समेत स्ट्याण्डबाई राख्ने योजना छ,’ उनले भने, ‘माथी कुराकानी भईरहेको छ, सम्भवतः छिट्टै आउछ होला ।’ उनले कर्णालीमा कुनैपनि विकट क्षेत्रमा केही भइहालेमा तुरुन्तै जानुपर्ने अवस्थामा हेलिकप्टरमार्फत सेना तत्कालै फिल्डमा पुग्ने जनाए ।

बम डिस्पोजल टोली

निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थहरु राख्नसक्ने, तर्साउने खोज्ने जस्ता कामहरु हुने भएकाले त्यस्ता वस्तुहरु डिस्पोज गर्न बम डिस्पोजल टोली पनि तैनाथ गरिएको छ ।

त्यसका लागि अति संवेदनशील मतदानस्थलहरु भनिएका ठाउँहरुलाई केन्द्रीत गरेर बम डिस्पोजल टोली पनि तैनाथ पारिएको उत्तरपश्चिम पृतनापति शाहले जानकारी दिए ।

सेनाको मोटरसाईकल गस्ती

निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली सेनाको टोलीले पैदल, मोटरसाइकल र गाडीमा गस्ती शुरु गरेको छ । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले मोटरसाइकल गस्ती समेत सुरु गरेको हो ।

सडकमा नेपाली सेनाको गस्ती देखा पर्न थालेपछि मतदाता तथा सर्वसाधारणमा पनि आत्मविश्वास बढेको देखिन्छ । तीनै सुरक्षा निकायले संयुक्त तथा एक्लाएक्लै गस्ती थालेपछि कर्णालीमा चुनावको माहोल उत्सवमय बनेको छ ।

४४१ मतदान केन्द्र अति संवेदनशील

कर्णालीमा सुरक्षाका दृष्टिले सामान्य, संवेदनशील र अति संवेदनशील भनेर तीन भागमा छुट्याइएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार प्रदेशका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

प्रदेशका १ हजार ४ सय ३७ मतदान केन्द्र मध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा प्रदेशभर १४ हजार ७ सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ । उनले दुर्गम तथा हिमाली जिल्ला मात्र नभएर प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा समेत चुनौती नै हुने गरेकाले आवश्यकता अनुसार सुरक्षाकर्मी थपघट हुने बताए ।

Translate »