सुर्खेतमा वन डढेलो रोकथाम तथा नियन्त्रण गर्न जनसमुदाय परिचालन गरिँदै

वीरेन्द्रनगर । सुर्खेतमा वन डढेलो रोकथाम, नियन्त्रण गर्न जनसमुदाय परिचालन गरिने भएको छ ।

डिभिजन वन कार्यालयले गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने उच्च सम्भावना रहेकाले रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सरोकारवालाहरुको सल्लाह र सझावबाट जनसमुदायलाई परिचालन गर्न लागेको हो ।  वन कार्यालय अन्तर्गतका सव–डिभिजनको क्षेत्राधिकार भित्र रहेका सामुदायिक वनहरुको स्वीकृत विद्यान तथा कार्ययोजना अनुसार समुदायमा आधारित वन डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन भएका छन् ।

जिल्लाका सव–डिभिजन वन कार्यालयहरुले आ–आफ्नो क्षेत्राधिकार भित्र रहेका सामुदायिक वनका पदाधिकारीसँग वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धी छलफल तथा अन्तरक्रिया गोष्ठी गरिसकेको वन कार्यालयका सूचना अधिकारी नवराज पौडेलले जानकारी दिए । उनले सुक्खा मौसमको सुरुवात भएसँगै सम्भावित वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले समुदायसँग छलफल तथा अन्तरक्रिया गोष्ठी गरिएको बताए ।

उनका अनुसार सामुदायिक वनको स्वीकृत विधान तथा कार्ययोजना अनुसार काम गर्दा भएका उत्कृष्ण कार्यहरु, गर्न नसकिएका कामहरु, गर्न नसक्नुको कारण, सामुदायिक वनले समुदायको विकासमा पु¥याएका योगदान, समुदायको जीविकोपार्जनमा ल्याएको सुधार, गरिवि न्यूनिकरणमा खेलेको भुमिका, समाबेसीकरणमा ल्याएको परिवर्तन, रोजगारी बृद्धि, नेतृत्व विकास एवं महिलाको क्षमता बृद्धिमा पु¥याएको योगदान लगायतका बारेमा समिक्षा, छलफल तथा अनुभव आर्दानप्रदान गरिएका छन् ।

उनले हालसम्म सव–डिभिजन वन कार्यालय गुर्भाकोट, छिन्चु, वीरेन्द्रनगरले सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरिसकेको जानकारी दिए । अन्तरक्रियात्मक गोष्ठी पछि वन कार्यालयले सम्भावित वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियानलाई तीव्रता दिने निर्णय गरेको उनको भनाइ छ ।

वन डढेलो नियन्त्रणमा योगदान दिन सक्ने विभिन्न संघ संस्था, समूह तथा व्यक्तिहरुसँग छलफल, सल्लाह, सुझाव तथा आवश्यक सहयोगका हातहरु अगाडि बढाईएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जनाए । उनले समुदायदेखि विद्यालयसम्म वन डढेलो नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्न सामुदायिक वन समूहहरुका पदाधिकारीहरुलाई आग्रह गरिएको बताए ।

‘वन समूहहरुलाई वन क्षेत्रको बाटोको छेउ, मध्य भाग, अन्त तथा उपभोक्ताले देख्ने ठाउँमा वन डढेलो सम्बन्धि सचेतनामुलक होर्डिङ्ग बोर्ड राख्न अनुरोध गरेका छौं,’ उनले भने, ‘उक्त होर्डिङ्ग बोर्डमा सन्देशमुलक सूचनासँगै कसैले वन क्षेत्रमा आगो लगाए विगो असुल गरी ६० हजार रुपैयाँसम्म जरिवाना वा ३ बर्ष कैद वा दुबै सजाय हुने कानूनी व्यवस्था उल्लेख गर्न भनेका छौं ।’

उनले बाटोको ५ मिटर दाँयाबाँया सुकेका पात पतिङ्गर, दाउरा, काठ संकलन गरि सकेसम्म कम्पोष्ट मल बनाउन र नसके नियन्त्रितरुपमा डढाउन सुझाव दिईएको बताए ।

‘जिल्लाका सबै सामुदायिक वन समूहलाई क्यूआरटी (क्वीक रेसपन्स टीम) गठन गरी आगो निभाउने उपकरणसहित तालिम दिएर तयारी अवस्थामा राख्न भनेका छौं,’ उनले भने, ‘वनमा आगो लाग्ने वित्तिकै उक्त तालिम प्राप्त टिमसँगै वन समूहका पदाधिकारी तथा समुदाय डढेलो निभाउन जानु पर्नेछ ।’

उनले स्थानीय पालिकाहरुलाई समेत वन डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसारसँगै आवश्यक स्रोत व्यवस्थापन गरेर अघि बढ्न सुझाव दिएको बताए । जिल्लामा लाग्ने आकस्मिक वन डढेलो नियन्त्रण कार्य एक्लै वन कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले समुदायसँगै अन्य सरोकारवाला निकायसँग समेत समन्वय तथा सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।

Translate »