फागुन २१ गते हुने निर्वाचनका लागि घर फकिँदै प्रवासी नेपाली


बाँके । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा वैदेशिक रोजगारीका लागि भारत लगायत विभिन्न मुलुक पुगेका नेपाली युवा घर फर्किन थालेका छन् । विगतमा रोजगारीको अभावका कारण बाध्यतावश विदेशिनु परेका उनीहरू यसपटक भने मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिन्छन् ।
नेपालमा रोजगारीको अवसर नपाएर बाध्यतावश विदेशिनु परेका युवा यसपटक भने मतदान गर्न घर फर्किरहेका छन्। अछाम घर भई भारतको पुनामा कार्यरत प्रकाश शाही यसपटक शिक्षा स्वास्थ्य र रोजगारीका सवालमा काम गर्न सक्ने उम्मेदवारलाई मत दिने तयारीका साथ घर फर्किएको बताउँछन् ।
घरपरिवार धान्न भारत पुगेका धेरै युवाको आफ्नै पीडा छ । साहुको डर, हेपाई र असुरक्षित श्रम वातावरण सहेर पनि परिवारका लागि सङ्घर्ष गरिरहेका उनीहरू विगतका झुटा आश्वासनबाट निराश छन् । चार वर्षदेखि भारतको गुजरातमा कार्यरत जुम्लाका सुरज रावतको पनि युवाका मुद्दा सम्बोधन गर्न सक्ने उम्मेदवारलाई मत दिने सोच छ ।

विगतका उम्मेदवारप्रतिको बढ्दो निराशा गैर जिम्मेवारी र अधुरा बाचा यी कारण मतदाताको विश्वास पुराना अनुहारबाट घट्दै गएको देखिन्छ । जुम्लाका टेकबहादुर बुढामगर काम छोडेर भए पनि सन्तानको भविष्य सुरक्षित गर्न सक्षम र इमान्दार उम्मेदवार रोज्न घर फर्किएको बताउँछन् ।
निर्वाचन नजिकिँदै गर्दा नेपाल भारत सीमा नाकाहरूमा चहलपहल बढेको छ । करिब दुई सातादेखि जमुना नाकाबाट दैनिक सयौं मतदाता नेपाल फर्किरहेका छन् । महिलाहरु पनि रोजगारीको सिलसिलामा भारत पुगेका छन् । ‘बर्दियाकी कालिका पोन आठ वर्षदेखि भारतको गोवामा कार्यरत छिन्,’ उनी भछिन्न्, ‘देशमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई मत दिन्छु ।’
निर्वाचन नजिकिँदै गर्दा सीमावर्ती बजार र यातायात क्षेत्रमा चहलपहल बढेको छ । घर फर्किनेहरूको भीडले गाउँघरमा चुनावी चर्चा झनै तातेको छ। युवाहरु बिच यसपटक ‘नयाँ सोच, नयाँ नेतृत्व’ भन्ने नारा प्रभावकारी बनेको छ । सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट उम्मेदवारको पृष्ठभूमि, कामको विवरण र प्रतिबद्धता बुझ्ने क्रम पनि बढेको पाईन्छ ।

