२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

गिट्टी कुटेर जीविकोपाजर्न गर्नेलाई निर्वाचनको रौनकले छोएन



मुगु । फागुन २१ गते निर्वाचनको रौनकले गिट्टी कुटेर जीविकोपार्जन गर्नेलाई छोएको छैन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका दलित महिलाका लागि चुनाव आउनु र नआउनु उस्तै बनेको छ । चुनावी सरगर्मी बढिरहेका बेला उनीहरू भने बिहानदेखि बेलुकासम्म गिट्टी कुट्दै दैनिकी गुजार्न बाध्य छन् । ‘चुनाव त आयो, तर हाम्रो जिन्दगीमा केही आएन,’ गिट्टी कुट्दै गरेकी एक दलित महिलाले भनिन्, ‘जसले जिते पनि हाम्रो दुःख उस्तै हुन्छ ।’

पछिल्लो समय बढ्दै गएको आर्थिक मन्दीले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारहरू झन् संकटमा परेका छन् । विशेष गरी दलित समुदायका महिलाहरूका लागि रोजगारीका अवसर न्यून हुँदा उनीहरू सडक किनार र खोलाबाट गिट्टी कुटेर परिवार पाल्न बाध्य छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरू भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् । तर यी मजदुर महिलाहरूका समस्या भने चुनावी भाषण र नाराभन्दा बाहिरै छन् । उनीहरू भन्छन्, ‘हामीलाई कसले जित्छ भन्दा पनि भोलि खाने के भन्ने चिन्ता छ ।’

गिट्टी कुटेर दिनभर काम गर्दा पनि एक दिनको कमाइले दुई छाक खान पुग्दैन् । स्वास्थ्य बिग्रिँदै गएको, बच्चाहरूको पढाइ छुट्दै गएको र भविष्यप्रति आशा घट्दै गएको उनीहरूको गुनासो छ । स्थानीय तह र राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा रोजगारी, सामाजिक सुरक्षा र दलित समुदायका लागि लक्षित कार्यक्रमको कुरा गरेपनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको उनीहरूको भनाइ छ ।

कार्कीवाडाका दलित महिला मजदुरहरूको जीवनले चुनाव केवल राजनीतिक उत्सव मात्र नभई जनजीविकासँग जोडिनुपर्ने सन्देश दिएको छ । चुनावी माहोलबीच उनीहरूका लागि चुनाव उत्सव होइन, गिट्टी कुट्दै पेट पाल्ने सङ्घर्षको अर्को दिन बनेको छ । सवाल यहाँ केबल मुगुको कार्कीवाडाकी दलित महिलाको मात्र होइन, समग्र कर्णाली प्रदेश भरिका दूर दराजमा बसोबास गर्ने उत्पीडित गरिब तथा दलित वर्गहरूको पीडा र कहानी उस्तै छ ।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार
Translate »