निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी अभिमुखीकरण


सुर्खेत । नेपाल पत्रकार महासंघले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कर्णालीका पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
महासंघले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा एक दिने निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालना सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सुर्खेतका सहायक प्रमुख जिल्लाअधिकारी डिलबहादुर कार्कीले पत्रकारहरुलाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्दै सबै पक्ष मिलेर निर्वाचनलाई सफल गराउन आग्रह गरे ।
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सफलापुर्वक सम्पन्न गराउने दायित्व सबैको भएकोले उम्मेदवारदेखि पत्रकारसम्म सबैले स्वनियमनको सिद्धान्त अपनाएर आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । उनका अनुसार सुर्खेतमा निर्वाचन आचारसंहितको परिपालन गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले सौहार्दपूर्ण तरिकाले प्रचारप्रसार, घरदैलो र आमसभा शान्तिपूर्ण तवरले गरिरहेका छन् ।
उनले अघिल्लो निर्वाचनको तुलनामा यो पटक निर्वाचनमा आचारसंहिताका घटनाहरु शुन्य प्रायः रहेको बताए । यस पटकको निर्वाचनलाई समेत स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन प्रक्रियालाई स्वच्छ र विश्वसनीय बनाउन सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनको समयमा पत्रकारलाई धम्की, आक्रमणका घटना नआउन दिन सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न सुझाव दिए ।
डिजिटल प्लेटफर्मका कारण सही र सत्य सूचनाहरु जनता समक्ष पु¥याउन चुनौती रहेको बताउँदै उनले आचारसंहिता पालना गर्नु सबै पत्रकारको कर्तव्य भएको जनाए । अभिमुखीकरण कार्यक्रममा पत्रकारले भोगेका चुनौतीबारे छलफल र सुरक्षित हुँदै आचारसंहिता पालना गर्न जोड दिईएको छ ।
पत्रकार महासंघले पत्रकारका लागि निर्वाचन अभिमुखीकरण कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन गरिरहेको उनको भनाइ थियो । पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले मिथ्या सूचनाबाट बचेर सही र सत्य समाचार सम्प्रेषण गर्न आग्रह गरे । अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेशका पाँच दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।


