कर्णालीमा ५२.५ प्रतिशत मतदान


सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचन आज कर्णालीका सबै जिल्लाहरु शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
प्रदेशभरका ९ सय ४१ मतदान स्थलहरुमा उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएका प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको हो । कर्णाली प्रदेशभर ५२.५ प्रतिशत मत खसेको छ । कर्णालीमा १० लाख ४८ हजार १ सय ३८ मतदातामध्ये ५ लाख ४९ हजार ८ सय ९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशभरि ९ सय ४१ मतदान केन्द्र थिए । कर्णालीमा २ लाख ९८ हजार २ सय ८ महिला, २ लाख ५१ हजार ५ सय ९९ पुरुष र अन्य २ मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानको समयमा कर्णालीमा कुनै पनि अप्रिय घटना भएनन् ।

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार सुर्खेत १ मा ५३.१९, सुर्खेत २ मा ५५.९७, दैलेख १ मा ४९.३५ र दैलेख २ मा ४३.१ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार जाजरकोटमा ५६.१४, सल्यानमा ४४.४० र रुकुम पश्चिममा ५७.९७, कालीकोटमा ४८.६२, जुम्लामा ५६.०४, मुगुमा ५८.९०, डोल्पामा ६३.१४ र हुम्लामा ५२.५ प्रतिशत मतदान भएको छ ।
प्रदेश निर्वाचन अधिकारी गुरुङले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयका ल्याउन थालिएको जानकारी दिए । उनले कुनै पनि ठूलो अवाञ्छित घटना नभएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको बताए ।


