न्याय माग गर्दै इनिशा पढ्ने विद्यालयका बिद्यार्थी आन्दोलित


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित उषा बालवाटिका स्कुलकी कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिशा विकलाई न्यायको माग गर्दै सोही विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । शुक्रबार बिहान विद्यालय परिसरबाट निस्किएको र्यालीमा विद्यार्थीहरूले ‘जस्टिस फर इनिशा’, ‘हत्यारालाई कडा कारबाही गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा धर्ना दिएका हुन् ।
विद्यार्थीहरूले इनिशाको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले केही समय विद्यालय अगाडि धर्ना दिएका थिए ।

उनीहरूले घटनामा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा फेला परेकी इनिशा विकको मृत्यु प्रकरणपछि यतिबेला सुर्खेतसहित कर्णाली प्रदेशभर न्यायको माग गर्दै आवाज उठिरहेको छ ।

