कर्णालीको सुर्खेतमा विविध कार्यक्रम गरी उपभोक्ता अधिकार दिवस मनाईयो

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा विश्व उपभोक्ता अधिकार दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतको समन्वय तथा सहयोगमा छलफल, अन्तक्र्रियालगायतका कार्यक्रम गरी दिवस मनाईएको हो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले कर्णाली प्रदेश सरकारले उपभोक्ता हक, हित र अधिकार सुनिश्चितताका लागि छिट्टै प्रदेश स्तरीय कानून बनाउने बताए । उनले उपभोक्ता सचेतना कार्यक्रमसँगै बजार अनुगमन नियमक निकायको क्षमता अधिबृद्धिका लागि आवश्यक बजेटका लागि प्रदेश सरकारसँग पहल गरिने जनाए ।

कुनैपनि प्रकारको कालोबजारी, कृत्रिम अभाव र सिन्डिकेट जस्ता विकृति कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो । कार्यक्रममा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले सुर्खेतमा पेट्रोलियम पदार्थ ग्यास जस्ता वस्तुको अभाव नरहेको स्पष्ट पारेका छन् । उनले ग्यास तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिए ।

अनावश्यकरुपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा वा नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उनको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेशभर मासिक सरदर ३५ हजार सिलिण्डर खपत हुने गरेकामा हाल दैनिक १६ सिलिण्डर नियमित आपूर्ति भईरहेको नेपाल आयाल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । प्रदेशभर अनुगमन तथा नियमनको अधिकार पाएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देवीलाल सापकोटाले उपभोक्ताको हक, हितविपरीत कालोबजारी, सिन्डिकेट र कृत्रिम अभाव सिर्जना गर्नेमाथि निर्देशनालयले अनुगमन गरिरहेको बताए ।

उनले मध्यपूर्वी देश इरान र इजराय युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै ग्यासको कालोबजारी गर्न खोजे कडा कारवाही गरिने जनाए । यस्तो बेला स्वयं उभोक्ता पनि जागरुक बन्न आवश्यक रहेको उनको भनाइ थियो । अन्तरक्रियामा कार्यक्रममा बोल्ने अधिकांस वक्ताले सरकारी तथा गैरसरकारी पक्षबाट उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्ने वातावरण निर्माण गर्न तर्फ सबैको प्रयासरत आवश्यक रहेको बताए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख सन्तोष दाहाल, उपभोक्ता हक, हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सेना र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका माधवप्रसाद न्यौपानेले उपभोक्ता अधिकार सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

Translate »