२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

रेडियो नेपाललाई प्रतिस्पर्धी बनाउन सञ्चार तथा सूचना प्रविधि सचिव बस्नेतको जोड



सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सापेक्ष सूचना क्रान्तिले ल्याएको नवीनतम् प्रविधिहरुको उपयोग गर्ने तर्फ अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् ।

आज रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको निरीक्षण तथा अनुगमनका क्रममा उहाँले रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरु सञ्चार माध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिईन् ।

उनले रेडियो नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहाससँगै जनताको जीवनसँग जोडिएको यो संस्था भएकाले निजी क्षेत्रका सञ्चार माध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रम मार्फत जनतालाई जोड्न आवश्यक रहेको औल्याईन् ।

सचिव बस्नेतले आर्थिक रुपमा सवल र सक्षम बनाउन रेडियो नेपालसँग भएको जग्गाको समेत अधिकतम् उपयोगी बनाउने तर्फ समेत सोच्न आवश्यक रहेको जनाईन् ।

उक्त अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख विजय बर्माले समय सापेक्ष प्रादेशिक प्रसारण केन्द्रसँगै एफएम रिले स्टेशनहरुको स्तरोन्नती गर्न आवश्यक रहेको जानकारी दिए । उनले प्रादेशिक प्रसारण केन्द्रका पुराना भवन तथा आवासहरुको मर्मत सम्भारसँगै चार पाङ्गे सवारी खरिद गर्नु पर्ने अवाश्कता रहेको बताए ।

भौतिकरुपमा रेडियो नेपालसँग पर्याप्त जग्गा रहेपनि कानूनी अचड्नले उपयोगी बनाउन नसकिएको समेत उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
Translate »