एमाले कार्यकर्ताको सुर्खेतमा शान्तिपूर्ण प्रर्दशन, अध्यक्ष ओलीलाई विना शर्त रिहाइ गर्न माग

सुर्खेत ।  नेकपा (एमाले) का कार्यकर्ताहरुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सुर्खेतमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विना शर्त रिहाईको माग गर्दै शान्तिपूर्ण सडक प्रर्दशन गरेका हुन् । सदरमुकाम वीरेन्द्रनगरमा आज विहानैदेखि प्रहरीको बाक्लो उपस्थितिका वीच एमालेका कार्यकर्ताहरुले निर्देशीत, नियोजित र गैरकानुनीरुपमा ओलीको गिरफ्तारी भएको भन्दै कडा आपत्ति प्रकट गरेका छन् ।

संविधान, लोकतन्त्र र विधिको शासन कायम गर्न माग राख्दै अध्यक्ष ओलीलाई गैरकानुनी, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक तरिकाले पक्राउ गरिएको उनीहरुको भनाइ छ । राजनीतिक पूर्वाग्रहका आधारमा अध्यक्ष ओलीलाई नियन्त्रणमा लिईएको आरोप लगाउँदै उनीहरुले गत भदौ २३ र २४ गतेको घटनामा संलग्न दोषीलाई जोगाउने र निर्दोषलाई फसाउने काम तत्काल बन्द गर्न समेत माग राखेका हुन् ।

उक्त घटना छानबिनका लागि गठित जाँचबुझ आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाउँदै आयोगको गठनदेखि प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियासम्म अपारदर्शी र पूर्वाग्रही रहेको उनीहरुको आरोप छ । एमाले कार्यकर्ताहरुले प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको ठहर गर्दै जाँचबुझ आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, निष्पक्ष र स्वतन्त्र नयाँ आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

वीरेन्द्रचोकमा भएको कोण सभामा भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने, संबिधानको रक्षा गर्दै कानुनी सर्वाेच्चताको ग्यारेन्टी गर्नु उनीहरुको माग छ ।

Translate »