विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा रहेको दलगत राजनीतिक प्रभाव हटाउने नीति आवश्यक रहेको बताएका छन् ।

सोमबार फेसबुकमा लेख्दै उनले वर्षौंदेखि विद्यार्थी संगठन र कर्मचारी संरचनाहरु दलका ‘स्लिपर सेल’ जस्तै बनेको भन्दै आलोचना गरेका हुन् । उनले योग्यता र क्षमताभन्दा पहुँच र दलगत झुकावलाई प्राथमिकता दिइँदा प्रणालीप्रति जनविश्वास कमजोर भएको उल्लेख गरे ।

प्रधानमन्त्री शाहले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन निर्माणको अभावका कारण नभई प्रणाली सुधारका लागि गरिएको स्पष्ट पारेका छन् । ‘विगतले देखाइसकेको छ, दलगत संगठन थपिँदैमा शिक्षाको गुणस्तर वा कर्मचारीको सम्मान बढ्दैन,’ उनले लेखेका छन ।’

उनले अब शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्ने नीति अघि सारिएको बताउँदै यस्तो कदमले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता र निष्पक्षता बलियो बनाउने दाबी गरेका छन् ।

नियुक्ति, सरुवा र बढुवामा दलगत निकटताभन्दा विधि, क्षमता र दक्षतालाई आधार बनाइने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले यो कदमलाई कुनै दलविरुद्धको लडाइँ नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताए । उनले परिवर्तन भाषणबाट नभई निर्णयबाट आउने उल्लेख गर्दै जनताको साथ र विश्वास आवश्यक रहेको उल्लेख गरे ।

सरकारले आवश्यक परे अध्यादेशमार्फत यी सुधार लागू गर्ने तयारी गरेको पनि उनले संकेत गरेका छन् ।

Translate »