हप्तामा दुई दिने बिदाले कर्णालीको स्वास्थ्य सेवा प्रणालीमा गम्भीर असन्तुलन


सुर्खेत । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदा अहिले कर्णालीका ग्रामीण नागरिकलाई स्वास्थ्य सेवा लिन सकस भईरहेको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेशले आयोजना गरेको जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिका पदधिकारीहरुसँगको अन्तरसरकार समन्वय बैठकका सहभागि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन कठिनाई भईरहेको बताएका हुन् ।
दैलेख जिल्ला समन्वय प्रमुख नमराज शाहीले दुई दिने सार्वजनिक विदाले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन सास्ती खेप्नु परिरहेको बताए । उनले दुई दिने विदाले विकट ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा हुने ढिलाइ र परीक्षण रिपोर्ट कुर्नुपर्ने बाध्यताले आर्थिक भार बढाएको जनाए ।
‘सरकारले इन्धन बचत गर्ने उद्देश्यले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णयले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवासँगै शैक्षिक क्षेत्रमा समेत त्यसको प्रत्यक्ष असर पुगेको छ,’ उनले भने, ‘सोमबार अस्पताल खुलेको दिन नागरिकलाई घन्टौं लाईन लाग्नुपर्ने बाध्यता रहेको छ । शुक्रबार जचाउन आएका बिरामीहरुले रिपोर्टका लागि ३ दिनसम्म बस्नुपर्ने वा सोमबारसम्म पर्खनुपर्ने अवस्था छ, जसले आर्थिक भार थपेको हो ।’
सल्यानको शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले सातामा दुई दिने विदाले सरकारी अस्पतालमा हुने ओपीडी सेवा बन्द हुँदा सामान्य परीक्षणका लागि ग्रामीण र विकट क्षेत्रबाट आउने बिरामीले निकै सास्ती भोग्नु परिरहेको बताईन् । उनले सरकारी अस्पताल बन्द भएपछि बिरामीहरु महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएको जनाईन् ।
‘शनिबार र आइतबार बन्द भएपछि सोमबार अस्पतालमा अत्यधिक भीड हुने गरेको छ,’ उनले भनिन्, ‘सातामा दुई दिने विदाले दक्ष स्वास्थ्यकर्मीको अभाव खेपिरहेको कर्णालीका अस्पतालहरुको सेवा प्रवाहलाई समेत अस्तव्यस्त बनाएको छ ।’ उनले दक्ष स्वास्थ्यकर्मीको अभाव खेपिरहेको कर्णालीले ग्रामीण भेगका सरकारी अस्पतालहरुमा पहिले नै डाक्टरको अभाव छ, दुई दिने बिदाले थप समस्या चर्काएको बताईन् ।
उनका अनुसार घन्टौं लगाएर अस्पताल पुगे पनि बिदाका कारण समयमै उपचार नपाउँदा विरामी निराश हुने गरेका छन् । यता कालिकोटको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयले तिलागुफा जस्तो भौगोलिक विकटता भएका बिरामीले अपेक्षाअनुसार उपचार नपाएको गुनासो गरे ।

उता कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दुईदिन बिदा दिने निर्णय सच्याउनुपर्नेमा जोड दिए । उनले कर्णाली जस्तो विकट भूगोलका नागरिकलाई दुई दिने सार्वजनिक विदाले स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरु प्रभावित भएको गुनासो आम नागरिकबाट आफुले सुन्नु परिरहेको बताए ।
‘ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सास्ती र घण्टौं लाईन लागेर पनि उपचारमा भईरहेको ढिलाइले नागरिकलाई सास्ती खेप्नु परेको गुनासो आईरहेको छ,’ उनले भने, ‘जटिल प्रकारका बिरामीहरु सोझै अस्पताल आएपनि सामान्य बिरामीहरु स्वास्थ्य चौकीमै भर पर्नुपर्ने अवस्था अझै कायम रहेकाले यो बिदा अन्यको हकमा ठिक भएपनि स्वास्थ्य र शिक्षा क्षेत्रको हकमा राम्रो नभएको बुझिएको छ ।’

उनले संघीय सरकारको यो निर्णयले आइतबार आधारभूत सेवासमेत पाउँन मुस्किल रहेको सेवाग्राहीको गुनासो आफुले सुन्नु परिरहेको जनाए । संघीय सरकारको दुई दिने सार्वजनिक विदा दिने निर्णयले आधारभूत सेवासमेत पाउँन मुस्किल रहेको सेवाग्राहीको गुनासो आफुले सुनिरहेको उनको भनाइ थियो ।
आइतबारको बिदाले कर्णालीका अधिकांस सरकारी अस्पतालका अत्यावश्यक सेवामा समेत भिडभाड बढेको छ । ती अस्पतालहरुमा आउने बिरामीहरु सामान्य चेकजाँचमै सीमित भई घर फर्किन बाध्य भएका छन् । सीमित जनशक्तिका बीच सेवा दिँदै आएको सुर्खेत स्थित प्रदेश अस्पतालले समेत दुईदिने बिदाका कारण दुर्गमका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाहमा समस्या सिर्जना भएको जनाएको छ ।
कर्णालीमा अहिले पनि जटिल प्रकारका बिरामीहरु सोझै अस्पताल आएपनि सामान्य बिरामीहरु स्वास्थ्य चौकीमै भर पर्नुपर्ने अवस्था छ । यो बिदा अन्यको हकमा ठिक भए पनि स्वास्थ्य र शिक्षा क्षेत्रको हकमा राम्रो नभएको स्वयम् स्वास्थ्यकर्मीहरु बताउँछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि आइतबारको बिदाले अत्यावश्यक सेवामा भिडभाड बढेको जनाएको छ ।

संघीय सरकारले कर्मचारीलाई शनिवार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय लागू गरेसँगै कर्णालीको स्वास्थ्य सेवा प्रणालीमा गम्भीर असन्तुलन देखिन थालेको छ । दुई दिने बिदाको निर्णयले विशेषगरी साविक कर्णालीसँगै सुदूरपश्चिमका अछाम र बाजुरा जिल्लाबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उपचारका लागि आउने बिरामीहरु यसको प्रत्यक्ष मारमा परेका छन् । सरकारी अस्पतालका ओपीडी सेवा शनिवार र आइतबार बन्द हुन थालेपछि बिरामीहरु शुक्रवार जाँच गराएर परीक्षण गराउने, त्यसपछि रिपोर्ट कुर्दै तीन दिनसम्म होटल वा आफन्तको घरमा बस्न बाध्य भएका छन् ।
सोमवार अस्पताल पुग्दा अत्यधिक भीडका कारण चिकित्सकले रिपोर्ट हेर्नसमेत समय दिन नसक्ने अवस्था सिर्जना भएको बिरामीहरुको गुनासो छ । लगातार दुई दिन सेवा बन्द गर्दा आर्थिक रुपमा कमजोर भएका बिरामीहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा तीन दिन बस्नु थप आर्थिक बोझ बनेको छ ।
स्वास्थ्य सेवा अन्य सरकारी सेवाजस्तो नभई निरन्तर सञ्चालन हुनुपर्ने संवेदनशील क्षेत्र भएको विज्ञहरु बताउँछन् । लगातार दुई दिन सेवा बन्द गर्दा ग्रामीण र विपन्न वर्गका नागरिक सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कर्णालीका जनप्रतिनिधिहरुले संघीय सरकारलाई वैकल्पिक मोडेल अपनाउन सुझाव दिएका छन् ।
अस्पताल पूर्ण बन्द नगरी पालो मिलाएर सेवा सञ्चालन गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीलाई ‘रोटेसन ड्युटी’, अतिरिक्त कामका लागि प्रोत्साहन भत्ता, अत्यावश्यक सेवामा सातै दिन ओपीडी सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ । स्वास्थ्यकर्मीले पनि पर्याप्त आराम आवश्यक भएको भन्दै दुई दिने बिदाको पक्षमा देखिए पनि सेवा निरन्तरताका लागि स्पष्ट कार्यविधि आवश्यक रहेको बताएका छन् ।
सरकारको दुई दिने बिदा निर्णय प्रशासनिक सुधारका लागि सकारात्मक भएपनि स्वास्थ्य क्षेत्रमा यसको कार्यान्वयन सरकारकै लागि चुनौतीपूर्ण बनेको छ । ‘दुई दिने बिदा’ सुविधा होइन, जनताको लागि ‘तीन दिनको सास्ती’ बनेको कर्णालीका सर्वसाधारण बताउँछन् ।


