अब घरदैलोमै राहदानी वितरण गरिने


अनिता विक/वीरेन्द्रनगर । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा सुर्खेतका सबै स्थानीय तहमा हुलाकमार्फत जनताको घरदैलोमा राहदानी पु¥याउने तयारी गरिएको छ ।
राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालय सुर्खेतबिच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । राहदानी विभागबाट राहदानी प्राप्त भइसकेपछि जिल्ला प्रशासन कार्यालयबाट सुर्खेतस्थित हुलाक निर्देशनालयले राहदानी बुझी सेवाग्राहीको घरदैलोमा वितरण गर्ने बताईएको छ ।
वितरण गरिसकेको राहदानीको जानकारी हुलाक निर्देशनालयले जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ । त्यस्तै हुलाक सेवा निर्देशनालयले यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पु¥याउने कार्यसमेत सुरु गर्न लागेको बताएको छ । जनस्वास्थ्य प्रयोगशालासँग प्रयोगशाला नमुना ढुवानी सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।

‘नेपाल टेलिकमसँग सिमकार्ड घरदैलोमा पु¥याउने विषयमा प्राविधिक तयारी थालिएको छ,’ उनले भने, ‘त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भइसकेको छ ।’ उनले मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको जनाए ।
उनका अनुसार राहदानी विभागसँग प्रणाली अन्तरआवद्धताका लागि अध्ययन समिति गठन, महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरण का लागि पहल लगायतका काम भइरहेको छ । सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी गभरमेन्ट कुरियर सर्भिसका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समन्वय भइरहेको छ ।
यता हुलाक निर्देशनालय सुर्खेतका सूचना अधिकारी सुनिता खत्रीले आगामी आइतबारदेखि घरदैलोमा राहदानी पु¥याउने तयारी भइरहेको बताईन् । ‘नागरिकताका सम्बन्धमा भने प्रशासन तथा ईलाकामा सम्बन्धित व्यक्तिको औंठाको छापसमेत आवश्यकता पर्ने हुँदा त्यस बारेमा कुनै निर्णय नभएकाले पहिलो चरणमा हुलाकले राहदानी पु¥याउन सम्झौता गरेको छ,’ उनले भनिन् ।

