वडासचिवलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रहरीले वडासचिवलाई धम्की दिने युवकलाई पक्राउ गरेको छ ।

आफूलाई जेनजी अभियन्ता भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

आफू प्रधानमन्त्री कार्यालयको भन्दै वडासचिव भण्डारीलाई धम्की दिएका खड्कालाई पक्राउ गरिसकिएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।

उनले भण्डारीलाई एक सिफारिसका लागि दवावपूर्ण फोन धम्की दिएको बताइएको छ । पक्राउ परेका खड्कामाथि थप अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाइ छ ।

खड्काको धम्कीपूर्ण फोन सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सामाजिक सञ्जालमा भाइरल भएको उनको फोन संवादवारे विभिन्न प्रतिक्रिया आएका छन् ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्र सेवक कर्मचारीमाथि दिइएको यस्तो धम्कीप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

Translate »