२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

आईएनएफ सुर्खेतद्वारा पाँच थान स्पोटर्स व्हील चियर सहयोग



सुर्खेत । आईएनएफ सुर्खेतले कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीलाई पाँच थान स्पोटर्स व्हील चियर सहयोग गरेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा आज एक कार्यक्रमका वीच आईएनएफले कर्णाली प्रदेश पारा ओलम्पिक कमटीलाई पाँच लाख ५० मूल्यका स्पोटर्स व्हील चियर सहयोग गरेको हो ।

सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख सुर्वण खड्का र आईएनएफ सुर्खेतका प्रमुख ललित सारुले उक्त स्पोटर्स व्हील चियर कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष किरण किशोर सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

आईएनएफ सुर्खेतका प्रमुख सारुले शारीरिक अपाङ्गता भएका खेलाडीहरुलाई खेलकुद गतिविधिमा सक्रियरुपमा सहभागी हुन र उनीहरुको आत्मबल बढाउनका लागि सानो मद्दत गरिएको बताए । उनले स्पोटर्स व्हील चियर सहयोग मार्फत अपाङ्गता भएका व्यक्तिलाई खेलकुदका माध्यमबाट समाजमा पुनर्मिलन गराउनु नै मुख्य उद्देश्यले रहेको जनाए ।

खेलकुदमा सहभागी हुँदा अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने गरेको सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख खड्काको भनाइ थियो ।

यता कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष सापकोटाले परम्परागत व्हील चियरको तुलनामा स्पोट्र्स व्हील चियर हल्का, गतिशिल र सुरक्षित हुने भएकाले बास्केटबल, क्रिकेट वा अन्य खेलकुदका खेलाडीलाई ठूलो सहयोग पुग्ने बताए ।

‘पारा राष्ट्रिय खेलकुदको तयारीमा रहेका कर्णालीका खेलाडीका लागि स्पोटर्स व्हील चियरले झनै ठूलो सहयोग पुग्नेछ,’ उनले भने, ‘समग्र पारा खेलाडीका तर्फबाट म, सहयोग गर्ने दाता तथा समन्वय गरि दिने सामाजिक विकास मन्त्रालयलाई समेत धन्यवाद व्यक्त गर्दछु ।’

उनले आगामी दिनमा समेत शारीरिक अपाङ्गता भएका खेलाडीहरुलाई खेलकुद गतिविधिमा सक्रिय बनाईराख्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको निरन्तर सहयोगको अपेक्षा रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार
Translate »