‘कर्णालीमा खेलकुदको संस्थागत विकासका लागि लगानी पहिलो शर्त’

सुर्खेत । कर्णालीको खेलकुद पत्रकारिताको संस्थागत विकासका लागि लगानी पहिलो शर्त रहेको औल्याईएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको दोस्रो साधारण सभाका सहभागी सरोकारवालाले कर्णालीको खेलकुद पत्रकारिताको विकासका लागि पर्याप्त लगानी आवश्यक रहेको बताएका हुन् । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले खेलकुद पत्रकारितामा लगानी विना कर्णालीको समग्र खेलकुदको विकास लक्ष्य अधुरो रहने जनाए ।

उनले खेलकुदको स्तर उकास्न, खेलाडीको मनोबल बढाउन र खेलकुदलाई व्यावसायिक बनाउनका लागि खेलकुद पत्रकारिताको समेत विकास गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

‘खेलकुद पत्रकारितामा गरिने लगानीले पत्रकारको वृत्ति विकाससँगै नागरिकमा खेलकुदप्रति चेतना र आकर्षण बढउन मद्दत पुग्छ,’ उनले भने, ‘पत्रकारले गर्ने स्थलगत रिपोर्टिङले खेलकुद क्षेत्रमा हुने अनियमिततालाई समेत पारदर्शी बनाउन मद्दत पुग्छ ।’ खेलकुद पत्रकारिताको विकासका लागि प्रविधि, क्षमता अभिवृद्धि र अनुसन्धानमा लगानी आवश्यक हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुईटेलले सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर कर्णालीको खेलकुद पत्रकारिताको विकासमा अहिलेदेखि नै लगानी गर्नु जायज हुने जनाए ।

‘पत्रकारहरुको दक्षता र क्षमता विकासका लागि अन्तर्राष्ट्रिय स्तरको तालिम, कार्यशालासँगै (खेल–विशेष) तालिम सञ्चालन गर्नका लागि लगानी गर्नु नै पर्छ,’ उनले भने, ‘बढ्दो प्रविधिको प्रयोगसँगै मल्टिमिडिया, डाटा एनालिटिक्स, भिडियो ग्राफिक्स र गुणस्तरीय अनलाइन सामग्री उत्पादन गर्न लगानी चाहिन्छ ।’

खेलकुदको इतिहास, खेलाडीको विश्लेषण र खेल नीतिका विषयमा गहन अनुसन्धान गर्नका लागि आर्थिक स्रोतको व्यवस्थान अपरिहार्य रहेको उनको भनाइ थियो । कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले खेलकुद पत्रकारिताको संस्थागत विकासका लागि सरकारसँगै कर्पोरेट क्षेत्रबाट समेत लगानी र सहकार्यको आवश्यकता रहेको औल्याए ।

उनले कर्णालीमा खेलकुद पत्रकारिताको विकासका लागि आफ्नो स्तरबाट सक्दो सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । मञ्च सुर्खेतका निवर्तमान अध्यक्ष भानुभक्त अधिकारीले आउने समयमा खेलकुद पत्रकारिताको भविष्य सुन्दर रहेकाले नवनिर्वाचित कार्यसमितिलाई आफ्नो जिम्मेवारीलाई प्रभावकारी बनाएर अगाडि बढ्न सुझाव दिए ।

उनले हाललाई आफु कुनै अमुक भूमिकामा नरहेपनि खेल पत्रकारिताको विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैवीच खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको दोस्रो साधारण सभाले नविन शाहीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति मनोतित गरेको छ । सभाले उपाध्यक्षमा रमा केसी, सचिव अप्सरा विष्ट, कोषाध्यक्ष सिर्जना बुढाथोकी, सह–सचिव नविन सुवेदी तथा सदस्यमा राकेश पौडेल (तिलक), टेकराज केसी, भावना राना र मिलन श्रेष्ठलाई मनोनित गरेको हो ।

Translate »