कर्णालीका दुई पालिकामा अझै नेपाल टेलिकमको फोर–जी सेवा पुगेन


सुर्खेत । कर्णाली प्रदेशका दुई पालिकामा अझैपनि फोर–जी (एलटीई) सेवाको पहुँच पुग्न सकेको छैन् ।
नेपाल टेकिलमको सेवा विस्तारमा भईरहेको ढिलाईले फोर–जी सेवा लिन आतुर टेलिकमका उपभोक्तालाई थ्री–जीमै सीमित हुनुपर्ने बाध्यता छ । नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकामा फोर–जी सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ ।
टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक (ईन्जिनियर) निरन जोशीले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका दुई पालिकामा फोर–जी सेवा विस्तार गर्न ढिलाई भईरहेको बताए । ‘कर्णाली प्रदेशका ७९ वटै पालिकामा टु जी, थ्री जी सेवा सञ्चालनमा रहेको छ,’ उनले भने, ‘हाल फोरजी सेवा पुग्न नसकेका डोल्पाका दुई पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको छ ।’

यता डोल्पो क्याम्पस दुनैका क्याम्पस प्रमुख विष्णुलाल बुढाले अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको बताए । उनले फोर–जी सेवा विस्तार गर्न भईरहेको ढिलाईले ग्रामीण सर्वसाधारणसँगै विद्यार्थीलाई समेत समस्या भईरहेको जनाए ।
त्यस्तै शे फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम–कारबाहीसमेत प्रभावित भएको बताए । उनले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिक जीवन समेत प्रभावित बनेको जनाए ।
उनका अनुसार माथिल्ला डोल्पामा कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्नसमेत समस्या हुने गरेको छ । छिटो फोर–जी सेवा विस्तारका लागि जिल्ला, प्रदेश र संघीय तहमा समेत पटक–पटक पहल गरिएपनि कुनै सुनुवाई हुन नसकेको उनको भनाइ थियो ।

