कर्णाली प्रदेश सरकारद्वारा राजस्व उठाउने सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुर्खेत ।  कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रको सैद्धान्तिक स्वीकृति गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गर्दै प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको हो ।

बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।  त्यस्तै बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय गरेको हो ।

प्रदेशका सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री विनोदकुमार शाहले योगदानमा आधारित निवृतिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र उपर सैद्धान्तिक स्वीकृति गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

उनले कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृतलाई गर्ने निर्णय समेत बैठकले गरेको बताए ।

Translate »