यार्सागुम्बा संकलनका लागि वन खुला


मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आजदेखि वन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्म यार्सागुम्बा संकलनका लागि अनुमति प्रदान गर्ने गरेको हो ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बा संकलनका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य आजदेखि सुरु गरिएको छ । जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्ला भित्रकाका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क तोकिएको उनले बताए ।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगोल्डुङ, हाङ्दाङखोला र माजिङथानलगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य पाटनका रूपमा परिचित छन् । यी क्षेत्रलाई यार्सागुम्बा संकलनका लागि उर्वरभूमि मानिन्छ ।
हरेक वर्ष मुगुसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट तथा सुर्खेतलगायत जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता यार्सा टिप्न मुगु पुग्ने गरेका छन् । यार्सा संकलन सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन् ।
गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत अनुमति वितरण गर्दै आएको छ । उक्त प्रणालीबाट हरेक वर्ष लाखौं रुपैयाँ राजस्व संकलन हुने गरेको गाउँपालिकाको भनाइ छ । यार्सागुम्बा संकलनबाट स्थानीयवासीले मौसमी आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

