बुलबुलेमा बाढीको कृत्रिम घटना अभ्यास


वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बाढी तथा डुवान सम्बन्धि प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना नमुना अभ्यास गरेको छ ।
युरोपेली संघ मानवीय सहायता (इको) को सहयोगमा युएनडीपीको नेतृत्वमा युएनडीपी, युनीसेफ, युएन वुमन, ह्यान्डीक्याप इन्टरनेशनल र सुन्दर नेपाल संस्था रहेको कन्सोर्टियमद्वारा सञ्चालन भइरहेको शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर–२) ले बाढी तथा डुवानबाट बच्ने उपायका बारेमा कृत्रिम घटना अभ्यास गरेको हो ।
बुधबार वीरेन्द्रनगर–१० स्थित चर्चित पर्यटकीय स्थल बुलबुलेतालमा बाढी तथा डुवानको कृत्रिम घटना पूर्वाभ्यास गरिएको छ । बाढी तथा डुवानका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धारमा प्रयोग हुने उद्धार सामग्री, जनशक्तिको अद्यावधिकसँगै पुनः ताजगीका लागि खोज एवं उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको सुन्दर नेपाल संस्थाका शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजनाका टिम लिडर खिम रेग्मीले बताए ।

उनले सशस्त्र प्रहरी बल नेपाल, वीरेन्द्रनगर नगरपालिका, नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको जनाए । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी कार्ययोजनाअनुसार सोको प्रभावकारिताका लागि योजनाको परीक्षणसमेत गर्नुपर्ने भएकाले बुलबुले तालमा कृत्रिम घटना पूर्वाभ्यास गरिएको वीरेन्द्रनगर नगरपालिका विपद् शाखाका फोकल पर्सन यामलाल गिरीले जनाए ।

उनले पूर्वाभ्यासबाट बाढीका बखत जनशक्ति तथा आवश्यक खोज एवं उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताए । ‘यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारिता हुनेछ । मनसुन सक्रिय रहेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न वीरेन्द्रनगर नगरपालिका तयारी अवस्थामा रहेको छ’, वीरेन्द्रनगर नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक खिमलाल देवकोटाले भने ।

उनले विभिन्न वडामा यस्ता सचेतनामूलक पूर्वाभ्यास कार्यक्रम सञ्चालन गर्दै समुदायस्तरको विपद् व्यवस्थापन क्षमतालाई थप सुदृढ बनाउने जनाए । यता स्थानीयवासीहरुले पनि कार्यक्रमले बाढी तथा डुवानका बेला संयमित भएर कसरी काम गर्ने भन्ने व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
विशेषगरी महिला, युवा र बालबालिकामा सचेतना बढेको बताईएको छ । उता सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटाले बाढी तथा डुवानको कृत्रिम घटना पूर्वाभ्यासले जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले वीरेन्द्रनगरमा विपद् जोखिम न्यूनीकरण तथा रोकथामाम लागि ‘कृषिम घटना अभ्यास’ उपयोगी रहेको जनाईन् ।
कृत्रिम घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीसँगै नेपाल रेडक्रस सोसाइटीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य गरेको थियो । बाढी तथा डुवानको कृत्रिम घटना अभ्यास कार्यक्रममा वीरेन्द्रनगर स्थित सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो ।


