

सुर्खेत । नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित रहेको पाईएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९,लाटीकोइलीमा रहेको सो क्षेत्रमा संरक्षित जनावर मर्ने क्रम रोकिएको छैन् । जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित रहेको पाईएको हो । स्थानीय बासिन्दाका अनुसार काँक्रेविहार क्षेत्रमा मारिने मध्य केही कुकुरले लखेटेर, खाडलमा डुबेर र धेरैजसो पासोमा पारेर वा चोरी सिकारीबाट मारिएका छन् ।
लाटीकोइलीका स्थानीय नविन शाक्यले यसरी मारिँदा अहिले काँक्रेविहारमा जरायोको संख्या घट्दै गएको बताए । काँक्रेविहारभित्र भिड र चर्को आवाजले पनि शान्ति खोज्ने जरायो बाहिरिन थालेका छन् । त्यसका साथै जरायोले मन पराउने घाँस र पानीको अभावले गर्दा पनि बाहिर निस्किएका बेला स्थानीयले मार्ने, खाल्डोमा डुब्ने गरेको पाइएको शाक्यले जनाए ।
विगतमा ७० वटासम्म रहेको भनिएका जरायो अहिले बढीमा ४० देखि ५० सम्मको हाराहारीमा रहेको अनुमान गरिएको छ । जरायो प्रायः साँझको सुनसान अवस्थामा चर्न निस्कन्छन् । काँक्रेविहार जङ्गलभित्र घाँस खान नपाउने, पानीको अभाव र होहल्ला हुँदा जरायो बाहिर गएको मौकामा चोरी सिकारीले मार्न लखेट्ने र भाग्दा खाडलमा डुब्ने स्थानीयको भनाइ छ ।

प्राकृतिक पानीपोखरी निर्माण गर्न डिभिजन वन कार्यालयलाई बारम्बार आग्रह पनि अग्लो डाँडा भएकाले पानी जम्मा हुन नसकेको जनाईएको छ । यता डिभिजन वन कार्यालय सुर्खेतले भने जरायोका लागि पानीपोखरी निर्माण गरिए पनि खडेरीमा सुक्ने गरेको जनाएको छ ।
विगतमा बनाईएका पोखरीमा पानी जम्न नसक्दा समस्या आएकाले अहिले पानी अडिन सक्ने खालको बनाउने योजना रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी नवराज पौडेलले बताए । उनले आज मृत्त फेला परेको जरायो प्राकृतिक रुपमै मरेको पाईएकाले मुचुल्का उठाएर काँक्रेविहारमै गाडिएको जानकारी दिए ।
उनका अनुसार मृत्त जरायोको उमेर करिब दुई वर्षको हुन सक्ने आकलन गरिएको छ । काँक्रेविहार जंगलको संरक्षण हुन नसक्दा जरायो लोप हुने अवस्थामा पुगेको भन्दै सामाजिक अभियन्ता नवराज बोहोराले काँक्रेविहारमा वन्यजन्तु, चराचुरुङ्गी तथा वनस्पतिलाई आवश्यक दिगो पानी तथा आहारको उपलब्ध सुनिश्चि गर्नुपर्ने माग गरे ।
उनले जरायोलाई शान्त वातावरण मन पर्ने तर अहिले त्यहाँ बढी भिडभाड हुने हुँदा तिनीहरु बाहिर निस्कँदा मारिन पुगेको बताए । जरायोलगायतका वन्यजन्तुको बासस्थान, प्रजनन स्थल संरक्षणका लागि काँक्रेविहार क्षेत्रभित्रमा दिगो पानीको व्यवस्थापन नहुनु र मानिसको ठुलो जमात नै मुख्य बाधक रहेको उनको भनाइ छ ।










