‘स्वास्थ्य बिमा’ कार्यक्रमको दुरुपयोगले सरकारलाई आर्थिक व्यय भार बढ्दै


सुर्खेत । सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले ल्याईएको स्वास्थ्य ‘बिमा कार्यक्रम’ को रकम दुरुपयोग हुने गरेको पाईएको छ ।
प्रदेश अस्पताल सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा अस्पतालका निर्देशक डा. गणेश थापाले विमा रकमको सही सदुपयोग हुन नसक्दा राज्यको ढुकुटीमाथि अनावश्यक दबाब परेको बताएका हुन् ।
उनले नागरिकको स्वास्थ्योपचारलाई सहज बनाउन ल्याइएको सकारात्मक कार्यक्रम भएपनि यसको कतिपय प्राविधिकसँगै व्यावहारिक पक्षमा कमजोरी हुँदा दुरुपयोग हुने गरेको जानकारी दिए ।

बिमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन तत्कालै कडा नियमन र अनुगमनको संयन्त्र आवश्यक रहेको बताउँदै उनले वास्तविक बिरामी पहिचान गर्ने र स्वास्थ्य संस्थाहरुबाट हुने दाबी प्रक्रियालाई पारदर्शी बनाउन डिजिटल प्रणालीलाई अझ चुस्त बनाउनुपर्नेमा जोड दिए । राज्यले ठूलो रकम लगानी गरेको यस लोकप्रिय कार्यक्रमलाई बचाउन नागरिक स्वयं र सेवा प्रदायक स्वास्थ्य संस्था दुवै उत्तिकै जिम्मेवार र इमानदार हुनुपर्नेमा उनको भनाइ छ ।
निर्देशक डा. थापाका अनुसार सामान्य स्वास्थ्य समस्यामा पनि बिमाको रकम सिद्ध्याउने नियतले थाइराइड, भिटामिन डि जस्ता महगाँ र अनावश्यक प्रयोगशाला परीक्षण गराउने प्रवृत्ति बढ्नु नै चिन्ताको विषय हो । वास्तविक बिरामीले समयमा सेवा नपाउने तर प्रक्रिया पु¥याएर बिमाको रकम दाबी गर्ने परिपाटीले कार्यक्रमको मूल मर्ममाथि नै प्रहार भईरहेको उनको भनाइ छ ।
उनले बिमा बोर्डबाट समयमा भुक्तानी नहुने र सेवाको दुरुपयोग बढ्दा अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा समेत चुनौती थपिएको बताए । प्रदेश अस्पतालले बिमा कार्यक्रम लागु भएदेखि हाल सम्म ७५ करोड भन्दा बढि रकम बिमा बोर्ड बाट भुत्तानी पाएपनि अझै ६० करोड रकम पाउन बाँकी प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिईन् ।

