कृत्रिम बौद्धिकता (एआई) को प्रयोग समयको माग हो : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यहरुको संसदीय अभ्यासलाई प्रभावकारिता बनाउन कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सम्बन्धी तालिम दिईएको छ ।
प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम सहयोग एकाई सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेश सभा सदस्यहरुका लागि संसदीय अभ्यासमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सम्बन्धी क्षमता अभिबृद्धि तालिम दिएको हो ।
आज सुर्खेतको वीरेन्द्रनगरमा तालिमको मुख्यमन्त्री यामलाल कँडेलले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन समयको माग अनुसार कृत्रिम बौद्धिकता (एआई) को प्रयोगले प्रदेश सभा सदस्यहरुको क्षमता अभिबृद्धिमा सहयोग पुगेको विश्वास व्यक्त गरे । प्रविधिमैत्री हुनु आजको समयको माग रहेको बताउँदै उनले प्रविधिको युगमा जनप्रतिनिधिहरुले आफूलाई त्यस अनुकुलमा ढाल्नु पर्ने समय आएको बताए ।
तालिमले प्रदेशसभा सदस्यहरुलाई कानुन निर्माण र अन्य कार्यसम्पादनमा सहयोग पुग्ने उनको विश्वास थियो । कार्यक्रममा प्रदेशसभास सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माले एआइको तालिमले निकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताए । अहिलेको समयमा प्रदेशसभा सदस्यहरु पनि प्रविधिमैत्री हुन आवश्यक रहेको बताउँदै उनले ढिलै भएपनि प्रविधि चलाउन सकियो, यो हाम्रो लागि निकै महत्वपूर्ण उपलब्धी भएको जनाए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले पनि एआइएको तालिम उपलब्धिपूर्ण भएको बताए । एआइएको तालिमले प्रदेशसभा सदस्यहरुलाई कानुन निर्माण र दैनिक कार्यसम्पादनका लागि ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको छ । प्रदेशसभा सदस्य महेन्द्र केसी, जीतबहादुर मल्ल र उर्मिला विश्वकर्माले पनि तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्ने बताए ।
प्रदेशसभा सदस्यहरुको क्षमता अभिबृद्धिका लागि भएको कार्यक्रम कर्णाली प्रदेशसभा सचिवालयको समन्वय तथा संसद सहयोग परियोजनाको सहकार्यमा भएको हो ।
कार्यक्रममा प्रदेशस सकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, प्रदेशसभा सचिव डा. अर्जुन खड्का लगायतको सहभागिता रहेको थियो ।


