हिल्सा हुँदै ३७ सयभन्दा बढी गए कैलाश मानसरोवरको दर्शन गर्न

सिमकोट । पर्यटकीय याम शुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको संख्या ३ हजार ७०० नाघेको छ । यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम शुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि संख्या बढ्दै गएको हो ।

हालसम्म ३ हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ कैलाश मानसरोवरको दर्शन गर्न जाने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक जिल्लामा प्रवेश शुरु गरेका उनले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हालसम्म १ हजार ८९२ जना महिला र १ हजार ८८८ जना पुरुष भारतीय पर्यटक हुम्ला आएका छन् । उनका अनुसार पर्यटकीय याम शुरु भएसँगै दैनिक ८० देखि २०० जना भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका छन् । सोही कारणले यहाँका होटेलसहित कैलाश, मानसरोवर आसपासका होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् ।

पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको व्यवसायीहरू बताउँछन् । यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने काममा ३० भन्दा बढी भरियाले गरिरहेका छन् । सिमकोटमा उत्पादित कृषिउपजले बजार पाउन थालेका छन् ।

पर्यटकको आगमन बढेपछि हाल ताराको एउटा, सीताका दुई र समिट एयरका तीन गरी निजी एयरलाइन्सले ६ ओटा उडानमार्फत विहान ७स्०० बजेदेखि बेलुकासम्म नेपालगञ्ज(सिमकोट उडान गरिरहेका नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले बताए ।

उनका अनुसार ६ ओटा कम्पनीका ६ ओटा हेलिकप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन् । हेलिकप्टर विहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म उडान भरिरहेका छन् ।

यस्तो पर्यटकको चहलपहल सिमकोटमा मात्र नभएर दुई देशको सीमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ । पर्यटक आगमन बढेसँगै हिल्साका होटल व्यवसायी र भरियाको कमाइ बढेको उहाँको भनाइ छ ।

कैलाश मानसरोवरको दर्शन गर्ने समय शुरु भएपछि भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा विहानदेखि बेलुकासम्म चहलपहल हुन थालेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

उनले सिमकोटबाट पर्यटक हिल्सा ओसार्ने हेलिकप्टरले बिहान ६:३० बजेदेखि उडान भर्न शुरु गर्ने बताए । कुनै कुनै वेला सिमकोट विमानस्थलमा ट्राफिक जामसमेत हुने गरेको उनको भनाइ छ । रासस

Translate »