दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीको पहिचान मात्र होइन, क्षमता र सम्भावनालाई प्रस्तुत गर्ने अवसर हो : शिक्षा मन्त्री पोखरेल


सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले तोकिएकै समयभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि खेल पूर्वाधार कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको पहिचान, क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएको बताए । मंगलबार सुर्खेत स्थित खेल तथा शैक्षिक संस्थाको निरीक्षण तथा अनुगमन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताका लागि आवश्यक खेल मैदान, दर्शकदीर्घा, आवासीय व्यवस्था तथा अन्य भौतिक पूर्वाधारको अवस्थाका बारे सरोकारवालासँग समीक्षा गरे ।
मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी, खेल पूर्वाधारको स्तरोन्नती, खेलाडीमैत्री वातावरण निर्माण तथा खेल क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक योजना र कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिए । उनले निरीक्षणका क्रममा कर्णाली प्रदेश रङ्गशाला, मध्यपश्चिम विश्वविद्यालय र बहुमुखि क्याम्पसलगायतको पूर्वाधार विकास तथा सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिए ।

‘शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित र रुपान्तरणकारी बनाउन अनुसन्धान, नवप्रवर्तन, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सीप विकासलाई प्राथमिकता दिनु पर्छ,’ उनले भने, ‘शिक्षा क्षेत्रको समग्र सुधार बिना समृद्ध समाज निर्माण सम्भव हुँदैन् । शैक्षिक संस्थाहरुलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ ।’
उनले शिक्षामा पहुँच मात्र होइन, गुणस्तर, दक्षता र रोजगारमुखी शिक्षालाई सरकारले जोड दिए स्पष्ट पारे ।


