सुर्खेतमा ४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता शुरु

सुर्खेत । ४६ औं नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजदेखि शुरु भएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले एक भव्य समारोहका वीच नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले नेशनल च्याम्पियनसिपले प्रदेशको खेलकुद विकाससँगै राष्ट्रिय स्तरका खेलाडीहरुको प्रतिभा पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

नेपाल एथलेटिक्स संघको आयोजना एवं कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितमा पुरुष तथा महिला तर्फ १४/१४ गरी २८ इभेन्टमा प्रतिस्पर्धा भईरहेका छन् । ७ प्रदेश, ३ विभागीय टिम गरी १० टिमबाट १२० महिला, १२० पुरुष गरी २४० जना महिला पुरुष खेलाडीहरुले २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशसँगै विभागीय टिम तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरी तर्फ नेपाल पुलिस क्लबहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा १० टिमका २४०, खेलाडी,१० जना प्रशिक्षक, १० जना म्यानेजर र ६० जना प्राविधिकसहित ३२० जनाको सहभागिता रहेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुने खेलाडीले ५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् । यसैवीच आज विहान भएको १० किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोसी श्रेष्ठ प्रथम भएका छन् ।

Translate »