काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा, टि–सर्ट सार्वजनिक


सुर्खेत । काँक्रेबिहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ ।
‘दौडिन्छ कर्णाली’ नारासहित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को र एक्सट्रीम इनर्जी ड्रिङ्कको आर्थिक सहयोगमा आर्थिक सहयोगमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको संयोजकत्वमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको शुक्रबार वीरेन्द्रनगरमा आयोजकले जानकारीले दिएका छन् ।
यहीं असार ८ गते आयोजना हुन लागेको तेस्रो संस्करणको राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको टि–र्सट सार्वजनिक गरिएको छ । आयोजकका अनुसार करिब तीन हजार खेलाडीको सहभागिता रहने प्रतियोगितामा पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, महिला तर्फ १० किलोमिटर दौड र विद्यार्थीहरुका लागि ५ किलोमिटर दौड गरी तीन वटा ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
करिब ६० जना दक्ष प्राविधिकहरुको सहयोगमा वीरेन्द्रचोकदेखि दौड शुरु भएर मंगलगढी चोकहुँदै पिपिरा–सुब्बाकुनाबाट फेरी फर्किएर पुनः वीरेन्द्रचोकमै समापन हुनेछ ।
प्रतियोगितामा २१ किलोमिटरतर्फ प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले ७५ हजार रुपैयाँ, १० किलोमिटर दौडमा प्रथम हुनेले ७५ हजार र दोस्रोलाई ५० हजार रुपैयाँ एवम् ५ किलोमिटर स्कूले विद्यार्थीतर्फ प्रथम हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।


मिड वेस्टर्न फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालले कर्णालीमा दौड संस्कृतिको विकास गर्ने उद्देश्यसहित खेलकुदमार्फत स्वास्थ्य, पर्यटन र युवा सहभागिता प्रवद्र्धन गर्ने गरिने बताए ।
कर्णालीमा खेलकुद विकास र प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले खेलकुदलाई पर्यटनसँग जोड्दै कर्णालीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको जनाए ।
उनले ओलम्पिक ‘डे’ लाई ध्यानमा राख्दै यस वर्षपनि खेलाडीका लागि विशेष दिन भएकाले काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताले कर्णालीबाट खेल संस्कृतिको विकासका लागि देशभर नयाँ संदेश पुग्ने विश्वास व्यक्त गरे ।


