सुर्खेतमा पक्राउ परेका नेकपा एमाले उपाध्यक्ष पौडेललाई नेपालगञ्ज लगियो


सुर्खेत । सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई नेपालगञ्ज लगिएको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । उनलाई वीरेन्द्रनगर स्थित एउटा होटलमा भईरहेको एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा केही समय राखेर अहिले नेपालगञ्ज लगिएको छ ।

उनलाई नेपालगञ्जबाट काठमाडौं लैजाने योजना रहेको सुरक्षा स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।
सोमबार नै उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको थियो । यसअघि पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिएका थिए ।

