बाँकेमा कैदीबन्दीबीच झडप, ७ जना घाइते

नेपालगञ्ज । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप हुँदा ७ जना घाइते भएका छन् । कारागारको बी–ब्लकमा भएको झडपपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएपनि हाल सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार कारागारको आन्तरिक प्रशासन व्यवस्थापनका लागि नियुक्त गरिने नाइके र चौकीदार पदको विषयलाई लिएर कैदीबन्दीबीच विवाद चर्किँदै गएको छ । नाइके तथा चौकीदार चयनको समय नजिकिँदै जाँदा विभिन्न समूहबीच शक्ति सङ्घर्ष बढेको र त्यसकै परिणामस्वरूप झडप भएको बताइएको छ ।

झडपमा वर्तमान नाइके धर्मराज बुढासहित ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको भेरी अस्पतालमा तथा अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । उपचारपछि सबै घाइते कारागारमै फर्किएको जनाइएको छ ।

घटनापछि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन कारागारबाट ४० जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ । बाँके प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठौरका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ भने कारागारभित्रको सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको छ ।

Translate »