बादी समुदायका करिब ५ प्रतिशत महिला अझै यौन शोषणमा


नेपालगन्ज । एक तथ्याङ्क अनुसार बादी समुदायका करिब ५ प्रतिशत महिला अझै यौन शोषणमा रहेको बताइएको छ । राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव वादी(नेपाली) ले ‘बादी समुदायमा मानव बेचबिखन तथा यौन शोषण रोकथामका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै पछिल्लो सर्वेक्षण अनुसार ३०० महिलामध्ये १४ जना अर्थात् करिब ५ प्रतिशत बादी महिला यौन शोषणमा रहेको जानकारी दिए ।
उनले बादी समुदायमा शिक्षा, चेतना र सशक्तीकरणको अवस्था क्रमशः सुधार हुँदै गए पनि समाजको दृष्टिकोणमा अपेक्षित सकारात्मक परिवर्तन आउन नसकेको बताए । विभेद, पूर्वाग्रह र सामाजिक बहिष्करण अन्त्य गर्न राज्य, स्थानीय तह, नागरिक समाज तथा सञ्चार क्षेत्रको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो । सामुदायिक सशक्तीकरण तथा रूपान्तरण (कमिट) नेपालद्वारा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बादी समुदायको सम्मानपूर्ण जीवनयापन, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै तहका निकाय जिम्मेवार बन्नुपर्ने बताए ।

उनले मानव बेचबिखन तथा यौन शोषण जस्ता सामाजिक अपराध नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, समुदायका महिला तथा युवाको सशक्तीकरणमार्फत मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, वडा नम्बर १२ का वडा सदस्य पानसरा बाठा, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासङ्घ बाँकेका कार्यवाहक अध्यक्ष मन भण्डारी लगायतले बादी समुदायमाथि हुने विभेद, मानव बेचबिखन तथा यौन शोषण अन्त्यका लागि सबै पक्ष संवेदनशील र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कमिट नेपालका महासचिव प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सङ्घसंस्थाका रामु चिडिमार, जीवन गिरी, मोहनलाल सोनखर, रेखा नेपाली, निर्मला नेपाली लगायतले छलफलमा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन कमिटका कार्यक्रम संयोजक सुरज खड्काले गरेका थिए । –रेडियो नेपाल

