विष्णु पौडेलमाथि अनुसन्धान जारी राख्न विशेष अदालतबाट थप तीन दिन म्याद

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान जारी राख्न विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रक्रिया टुंग्याउन आवश्यक देखिएको भन्दै थप तीन दिन म्याद थपको आदेश दिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । त्यसपछि अदालतले पहिलो चरणमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसअघि अदालतले दिएको सात दिने म्याद असार १४ गते सकिएपछि अनुसन्धान अधिकारीहरूले थप समय माग गर्दै पुनः अदालत पुगेका थिए । सोही अनुरोधमाथि सुनुवाइ गर्दै अदालतले सोमबार थप तीन दिन हिरासतमा राख्न स्वीकृति दिएको हो ।

अब उक्त अवधिमा अनुसन्धान टोलीले पौडेलमाथि लगाइएको आरोपसँग सम्बन्धित थप प्रमाण संकलन, बयान र अन्य कानुनी प्रक्रिया अगाडि बढाउनेछ । पौडेलमाथि भइरहेको अनुसन्धानलाई लिएर राजनीतिक वृत्तमा समेत चासो बढिरहेको छ ।

Translate »