२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

प्रतिकूल मौसमका कारण कर्णालीका हिमाली जिल्लाहरुको हवाई सेवा प्रभावित



मुगु । वर्षातको प्रतिकुल मौसमले न्यून दृश्यताका कारण कर्णालीका हिमाली जिल्लाको हवाई सेवा प्रभावित भएको छ ।

मुगु, जुम्ला, हुम्ला र डोल्पाका अधिकांश विमानस्थलबाट नियमित उडान हुन नसक्दा यात्रु, पर्यटक तथा बिदामा घर फर्किन लागेका शिक्षक समस्यामा परेका छन् । मुगुको रारा विमानस्थल (ताल्चा) बाट सामान्य अवस्थामा मंगलबार बाहेक साताको छ दिन नेपाल एयरलाइन्स, समिट एयर र सीता एयरले उडान गर्दै आएका छन् ।

तर केही दिनयता प्रतिकूल मौसमका कारण अधिकांश उडान रद्द भएपछि सेवाग्राहीलाई समस्या भएको हो । रारा विमानस्थलका प्रमुख नवलकिशोर चौहानले मौसममा सुधार आएका बेला मात्रै फाटफुट उडान भइरहेको जनाए ।

उडान अवरुद्ध भएपछि उपचार, अध्ययन, सरकारी काम, रोजगारी तथा अन्य प्रयोजनका लागि जिल्ला बाहिर जानुपर्ने सयौं यात्रु विमानस्थलमै दिनौंदेखि प्रतीक्षारत छन् ।  लामो समय उडान हुन नसकेपछि धेरै यात्रु जोखिमपूर्ण र कष्टकर सडकमार्ग प्रयोग गर्न बाध्य भएका हुन् । रारा ताल भ्रमणका लागि पुगेका पर्यटक पनि उडान अनियमित हुँदा समस्यामा परेका छन् ।

मुगुको ताल्चा, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थल हिमाली क्षेत्रमा रहेकाले वर्षायाममा मौसम छिट्टै परिवर्तन हुने भएकाले नियमित उडान सञ्चालनमा कठिनाइ हुने गरेको छ ।  मौसममा सुधार आएपछि रोकिएका यात्रु र पर्यटकलाई प्राथमिकताका आधारमा गन्तव्यमा पठाइने तयारी गरिएको रारा विमानस्थलका प्रमुख चौहानले बताए ।

वर्षायाममा पटक–पटक उडान अवरुद्ध हुने समस्यालाई ध्यानमा राख्दै हवाई सेवा व्यवस्थापन, समयमै सूचना प्रवाह र समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश समितिका सदस्य डिलबहादुर खत्रीले जनाए ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार
Translate »