

मुगु । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको वास्तविक अवस्था बुझ्न सोमबार स्थलगत अनुगमनका लागि मुगु पुगेका छन् ।
गमगढीस्थित अनुसाटप होटलमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री लम्सालले विगतमा ‘मृत्यु मार्ग’ का रूपमा चिनिने कर्णाली राजमार्गलाई सुरक्षित, स्तरीय र आधुनिक सडकका रूपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दीर्घकालीन योजनाअनुसार कर्णाली राजमार्गलाई चार लेनमा विस्तार गर्ने लक्ष्यका साथ आवश्यक अध्ययन र प्रक्रिया अघि बढाइने बताए ।
कार्यक्रममा मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले जिल्लावासीका तर्फबाट विभिन्न मागहरू राख्दै ताल्चादेखि सात मोडसम्मको सडक कालोपत्रे गर्न, पिना–बालै–गमगढी सडक विस्तार गर्न तथा रारा घुम्न आउने पर्यटकलाई कम्तीमा एक रात गमगढीमा बस्ने वातावरण सिर्जना गर्न आग्रह गरे । व्यापार–व्यवसायलाई चलायमान बनाउन सडक पूर्वाधारको विकास अपरिहार्य रहेको बुढाले जानकारी गराए ।

मन्त्री लम्सालसमक्ष सोरु गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले सडक यातायात विस्तार, सडक स्तरोन्नति, पुल निर्माणलगायत जिल्लाका विभिन्न विकासका माग प्रस्तुत गरेका थिए ।
मन्त्री लम्सालले स्थानीय तह, जनप्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीयवासीबाट आएका सुझाव तथा मागलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।












