२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

सुर्खेतमा ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’



वीरेन्द्रनगर । सुर्खेत उपत्यकामा सवारी दुर्घटना न्यूनिकरणसँगै ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिएको छ । सदरमुकाम वीरेन्द्रनगरमा बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गरिएको हो ।

हार्भेष्टमुन इङलिस मिडियम बोर्डिङ स्कुलमा अध्ययनरत स्काउटमा आबद्ध ३५जना विद्यार्थीसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरीको टोलीले संयुक्तरुपमा ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन कार्यमा जुटेका छन् । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले शनिबार वीरेन्द्रनगरको एरीचोक, वीरेन्द्रचोक र मंगलगढीचोकमा चोकमा ट्राफिक नियमको सचेतनासँगै सवारी साधनको संयुक्त चेकिङ तथा ट्राफिक व्यवस्थापन कार्य उनीहरुले गरेका हुन् ।

स्काउट स्वयंसेवक र ट्राफिक प्रहरीको संयुक्त चेकिङ तथा ट्राफिक व्यवस्थापन एक सकारात्मक र प्रशंसनीय कार्य भएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले बताईन् । उनले सडक सुरक्षा बढाउन, चालकहरुमा चेतना जगाउन र ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका व्यक्त गरिन् ।

‘ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन कार्यक्रमले सडक दुर्घटना कम गर्न, सवारी आवागमन सहज बनाउन र नागरिकमा कानुनी पालनाको बानी बसाउन मद्दत पुगेको देखिन्छ,’ उनले भनिन्, ‘चालक, पैदलयात्री र विद्यार्थीहरुलाई लक्षित गरी सडक सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान र सचेतनाले यात्रालाई सुरक्षित र व्यवस्थित बनाउँछ ।’ उनले ट्राफिक नियमको जानकारीले चालकसँगै पैदलयात्रीमा शिष्टाचार एवं सचेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रोहितकुमार शाहीले ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन गर्नुअघि स्काउट स्वयंसेवकहरुलाई सडक सुरक्षा, ट्राफिक संकेत र आफ्नो सुरक्षा कसरी गर्ने भन्नेबारे तालिम दिईएको जनाए । उनले ट्राफिक नियम सम्बन्धि तालिम प्राप्त स्काउट स्वयंसेवक तथा ट्राफिक प्रहरीको संयुक्त साझेदारीमा ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन कार्यक्रम गरिएको बताए ।

‘प्रहरी एक्लैले भन्दा स्काउट जस्ता युवा स्वयंसेवकहरु देख्दा सर्वसाधारणले नियम बढी उत्सुकताका साथ पालना गरेको पाईयो,’ उनले भने, ‘विद्यार्थी र युवाहरुमा सानै उमेरदेखि नागरिक कर्तव्य र सडक अनुशासनको विकाससँगै सडक प्रयोगकर्ताहरुमा समेत धैर्यता र आपसी सम्मानको भावना बढेको देख्न सकिन्छ ।’

यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न संस्था तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रुपमा परिचालन गर्दै आएको छ । संयुक्तरुपमा ट्राफिक नियम सचेतना तथा ट्राफिक व्यवस्थापन कार्यले चालकहरुलाई लेन अनुशासन, गति सीमा र कागजातको महत्व बुझाउनुका साथै नियम उल्लङ्घन गर्नेलाई जरिवाना मात्र होइन, सुध्रने अवसर समेत दिने गरेको उनको भनाइ छ ।

‘यस्ता कार्यक्रमले सडक सुरक्षा बढाउन र नागरिकमा जिम्मेवारी बोध गराउन ठूलो भूमिका खेल्ने गरेको छ,’ उनले भने, ‘कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन पैदलयात्री तथा चालकहरुलाई ट्राफिक नियमबारे जानकारी दिने, जथाभाभी सडक काट्ने र नियम मिच्ने प्रवृत्तिलाई रोक्ने, व्यस्त समयमा ट्राफिक प्रहरीलाई सहयोग गरी जाम कम गर्ने, स्काउट भावना अनुरुप समुदायमा सकारात्मक प्रभाव पार्ने गरिन्छ ।’

उनले स्काउट स्वयंसेवकहरुको भूमिका पैदलयात्रीलाई जेब्रा क्रसिङमा सहयोग गरी सुरक्षितरुपमा सडक काट्न मद्दत गर्ने कार्य सबैभन्दा बढी प्रभावकारी देखिएको जनाए । यात्रुहरुलाई जथाभाभी गुडिरहेको गाडीमा चढ्न वा ओर्लन निरुत्साहित गर्न समेत स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
Translate »