२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

ग्यासको अभाव देखिएपछि दैलेख सदरमुकाममा छड्के अनुगमन



दैलेख । दैलेख सदरमुकाममा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ ।

सदरमुकाममा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रावण कुमारी विश्वकर्मा सहितको टोलीले सदरमुकामका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको र डिलर सञ्चालकले कम्पनीबाटै आवश्यकता अनुसार ग्यास नआएको बताएको प्रमुख जिल्ला अधिकारी सारुले बताउनुभयो । ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको प्रमुख जिल्ला अधिकारी सारुले बताए ।

अनुगमनका क्रममा प्रशासनले एउटा परिवारलाई एक पटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलर तथा बिक्री केन्द्रलाई निर्देशन समेत दिएको छ । ग्यास पुन डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक रुपमा वितरण गर्न समेत डिलरलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सारुले जानकारी दिए ।

कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको भेरी ग्यासको डिलर एलिजा स्टोरका सञ्चालक यज्ञराज रेग्मीले बताए । कम्पनीले पठाएको परिमाण अनुसार ग्यास ल्याएर बिक्री गरिरहेको भएपनि केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको रेग्मीले जनाए ।

कम्पनीबाटै माग अनुसार ग्यास नआएका कारण समस्या भएको उनको भनाई छ । कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुने हुँदा जिल्लामा आएको ग्यासले सबैलाई पु¥याउन कठिनाई भईरहेको सञ्चालक रेग्मीले बताए ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार
Translate »