

सुर्खेत । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।
समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सोमबार सुर्खेतको वीरेन्द्र चोकमा सहिदहरुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको हो । सहिद याम बिसी स्मृति प्रतिष्ठानले आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा स्वतस्फूर्त रुपमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेश स्थापनाका लागि १२ दिनसम्म चलेको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए । साउन २५ गते गौतम, विसी र रजवारको मृत्यु भएको थियो भने साउन २६ गते जुम्लाका कुवँरको उपचारकाक्रममा मृत्यु भएको थियो ।
सरकारले उनीहरुलाई सहिद घोषणा गरेको हो । प्रदेश प्राप्तिको आन्दोलनको मर्म र सहिदको सपना पूरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको सहभागीहरुको भनाई थियो ।
प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा भदौ ४ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।











