

सुर्खेत । खाना पकाउने ग्यास (एलपी) को अभाव देखिन थालेपछि सहज आपूर्ति बढाउन जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र पारेको छ ।
सुर्खेतका बजारहरुमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको हो । उद्योगबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै जिल्ला प्रशासनमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनलाई थप कडाइ पारिएको छ ।
सोमवार सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) डिलबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको हो । सिडिओ कार्कीले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरे ।

‘अनुगमनका क्रममा जिल्लाका केही डिलरमा ग्यासको माग अत्यधिक देखियो । केही डिलरमा भने सामान्य पाइयो । विगतको तुलनामा ग्यासको आपूर्ति बढेको भएपनि बजारमा अभाव देखिनुले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको हुनसक्ने देखिन्छ,’ उनले भने, ‘हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ।’

उनले मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले ग्यास अभावको हल्लाको पछाडी लागेर अतिरिक्त भण्डारण नगर्न सुझाव दिए । यता नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका सूचना अधिकारी रामकुमार कुमालले विगतको तुलनामा यस वर्ष मागभन्दा बढी नै ग्यास आपूर्ति भएको बताए ।

भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उनले आग्रह गरे । ‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ । आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन्,’ उनले भने ।
उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास विक्रेताले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न उनले सुझाव दिए । बजार अनुगमनका क्रममा ग्यास डिलरमा नियमित आपूर्ति भइरहे पनि माग अत्यधिक बढिरहेको पाइएको थियो ।












